काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डोलप्रसाद अर्यालले देश बनाउन ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्ने बताएका छन् ।
शनिबार पार्टीको सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताए ।
देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा रविहरूलाई जन्माउनुपर्ने उनले बताए । उनले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रविहरू जन्माउनुपर्ने र आफूहरू त्यही अभियानमा लागेको बताए ।
‘हामी को हौं भनेर कहिलेकाहीँ चर्चा हुन्छ । म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु, हामीले करीब ३६ हजार १०७ जना रविहरू यो देशमा जन्माउनुपर्नेछ । ३६ हजार १०७ जना रविहरू यो देशमा जन्मियो भने अनि मात्र सायद यो देशले, देशको नागरिकले, रास्वपाले हामी को हौं भन्दै गर्दा २०७९ असार ७ गते राष्ट्रिय सभागृहमा पार्टी सभापतिज्यूले जे बोल्नुभएको थियो । हामी त्यही रहिरहनेछौं । हामी त्यहाँबाट कहीँ विचलित भएका छैनौं । हामी परिवर्तन भएका छैनौं । बाजा नबजाइकन जन्ती आउँछ भने गाउँलेलाई थाहा हुँदैन तर जन्ती आइसकेपछि बाजा बज्न थाल्छ, त्यसपछि सबै गाउँलेलाई थाहा हुन्छ । २०७९ मंसिर ४ गते रास्वपालाई त्यस्तै भएको थियो । सायद कसैलाई थाहा थिएन, रास्वपा कसरी आउँछ ? कस्ता नेताहरूको उत्पत्ति हुन्छ भनेर,’ उनले भने, ‘जब मंसिर ४, वैशाख १० ले देखायो, सरकारमा गएर देखायौं । त्यसपछि थाहा भयो सबैलाई यिनीहरू साँच्चै नै केही गर्न आएका रहेछन् । हामीले खाइरहेको, हामीले लिइरहेको भाग नै खोस्न आएका रहेछन् । यो देशको नागरिकलाई सुसूचित गर्न आएका रहेछन् । भ्रष्टाचारको अन्त्य गर्ने नै भए जस्तो छ यिनीहरूले त्यस कारण राजनीतिलाई ज–जसले पेशा बनाएर बसेका थिए, ती पेशा बनाएर बस्नेहरू आत्तिने अवस्थाले गर्दा कहिलेलाई नेतृत्वलाई लखेटेजस्तो । केन्द्रले गल्ती नै गरेको हो कि क्या हो जस्तो तपाईंहरूलाई सशंकित बनाउँछ । हामीले जे बोलेका छौं, त्यसलाई परिमार्जन गर्दै जान्छौं तर त्यही हौं । रास्वपाका नेताहरूले भ्रष्टाचार गर्यो भने भ्रष्टाचार गरेको हो भन्ने प्रमाणित हुनुपर्यो । प्रमाणित भएपछि हामीसँग कुनै बाटाहरू छैनन् जोगाउने । त्यो अन्तिम नै हो । जनतालाई केही दिन्छु भनेर आएको मान्छे आफ्नो पार्टीभित्र बसेर भ्रष्टाचार गर्न सक्दैन । यो फरक हो हाम्रो ।’
उनले रवि बन्नका लागि आचारसंहिताको पालना गर्नुपर्ने भन्दै सबैलाई आचारसंहिता पालना गरी संगठन निर्माणमा लाग्न आग्रह गरे । उपसभापति अर्यालले आफूहरू पार्टी स्थापना गर्दाको संकल्पबाट विचलित नभएको भन्दै पार्टी स्थापनाको उद्देश्यमा कायम रहेको बताए ।
रास्वपामा परिवारवाद पनि लागू नहुने भन्दै उनले अन्य पार्टीहरूभन्दा धेरै कुरामा रास्वपा फरक भएको बताए । ‘रास्वपाका कुनै नेताले आफ्ना श्रीमती, आफ्ना दिदी, भाइ, बहिनीलाई आफू नेता भएकाले पदमा पुर्याउने र सांसद बनाउने काम गर्दैन । परिवारवाद यो पार्टीमा लागू हुँदैन । संगठन विस्तारमा आचारसंहिता लागू गर्नुपर्छ । हामीले हरेक वडामा रविहरूलाई जन्म दिनुपर्नेछ । एक जना रविले यो देश बन्ने भएको भए उहाँ टेलिभिजनमा भएर कराउँदै गर्दा बन्थ्यो होला । बन्दैन । हामीले हाम्रो संविधानभित्रै बसेर ३६ हजारभन्दा बढी रविलाई जन्म दिनुपर्नेछ यो देशमा । रविहरू, जसले यो देशको परिवर्तन गर्नु, देशलाई समृद्ध बनाउनु, भ्रष्टाचारको अन्त्य गर्नु अनि नागरिकलाई यो देशमा राज्य, सरकार छ भनेर महसूस गराउने अवस्थामा पुर्याउनलाई हामीलाई ती मान्छेहरू चाहिएकाले त्यस्तो मान्छे बन्नलाई आचारसंहिता महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।