काठमाडौं । अभिनेता राजेश हमालले आफ्ना दर्शकहरूले राजनीतिमामा आइदिए हुन्थ्यो भन्ने अपेक्षा राखेको बताएका छन् । ललितपुरमा भएको काठमाडौं कलिङ साहित्य सम्मेलनको एक सेसनमा बोल्दै उनले राजनीति ठीक अवस्थामा नरहेको कारण अन्य क्षेत्रका मान्छेहरू पनि राजनीतिमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा रहनेगरेको बताए ।
'मलाई दर्शकहरूले राजनीतिमा आइदिए हुन्थ्यो भनेर अपेक्षा राख्नुहुन्छ। यो हाम्रो राष्ट्रको बिडम्बना हो। जो राजनीतिमा लागिरहनुभएको छ। उहाँहरूबाट खासै काम भएको छैन। उहाँहरू निराश हुनुहुन्छ। हरेक व्यक्तिले सम्भावना खोजिरहनुभएको हुन्छ। सम्भावना हरेक क्षेत्रबाट खोजिरहनुभएको हुन्छ। तर जसबाट अपेक्षा राखिएको छ उहाँहरूबाट खासै काम भएको छैन' अभिनेता हमालले भने ।
जो व्यक्ति आफ्नो यात्राको पहिलो बिन्दुमा लाग्यो, सबैभन्दा उत्कृष्ट र राम्रो कार्य उसले त्यही क्षेत्रमा गर्न सक्ने बताए । 'तर बिडम्बना हाम्रा राजनीतिज्ञले सन्तोषजनक काम गर्न सक्नुभएन । समाजले विभिन्न पेसामा लागेको व्यक्तिलाई त्यहाँ राम्रो गरेको देख्नुभयो भने राजनीतिमा अपेक्षा राख्नुहुँदो रहेछ' हमालले भने,'राजनीति भनेको मेरुदण्ड हो । मेरुदण्डले काम गरेन भने शरीरका अरु अङ्गले काम गर्दैनन् ।मेरुदण्ड कमजोर हुने बित्तिकै त्यो राष्ट्रका अरु कुरा कमजोर हुन्छ। हाम्रो राजनीति पनि त्यस्तै भएको हो ।'
उनले चलचित्रमा अभिनय गर्ने प्रत्येक हिरो नायक हो हुन तर सबै नायकले त्यतिको हिरोइजम प्रदर्शन नगरेको हुनसक्ने उउल्लेख गरे । 'हरेक नायकले हरेक कथावस्तु भएको चलचित्रमा बहादुरी गर्नुपर्छ भन्ने छैन। सामान्य कथावस्तुमा पनि काम गर्न सकिन्छ। सघंर्षशील व्यक्तिको प्रतिनिधित्व गरेर अभिनय गर्न सकिन्छ। उहाँहरू पनि त नायक हो। किनकि फिल्मको कथाको केन्द्रीय पात्र नै नायक हो' उनले भने ।
उनले आफ्नो फिल्मी करिअरका तीन चरण बारेमा यसरी सुनाए :
पहिलो चलचित्र गर्दा थाहा थिएन, यसमा मेरो करिअर छ कि छैन। पहिलो चलचित्र युगदेखि युगसम्मको अपार सफलतापछि फिल्म मात्र हैन मलाई पनि फिल्म क्षेत्रमा स्वीकारिदिनुभयो। यो व्यक्ति को हो, कहाँबाट आयो उत्सुकता जाग्यो।
पहिलो चलचित्र रिलिजपछि दोस्रो चलचित्र कहाँबाट आउँछ भनेर सोचेको थिएँ। तर ९ महिनापछि विभिन्न पक्षबाट चलचित्रका अफर आउन थाले। १ वर्षमा त दिनमै २/३ वटा छायाँकन गर्ने अवस्थामा पुग्न सकेँ।
ती क्षण पर्याप्त प्राविधिक थिएनन्। म एक्लै ३/४ वटा चलचित्रमा आवद्ध हुन थालेँ। मेकअप आर्टिस्ट नै त्यतिबेला जम्मा २ जना थिए। जनशक्तिको अभाव खड्कियो। विस्तारै चलचित्रसँगै जनशक्ति पनि विस्तार भए। विस्तारै यसलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने भयो। कसरी धेरै भन्दा धेरै व्यक्तिलाई संलग्न गराउन सकिन्छ भन्ने लाग्यो। विस्तार हुँदै गयो। एउटा बिन्दुमा पुग्दा त हरेक साल १० वटा चलचित्रमा काम गरेको हुन्थेँ।
यसरी गरेको १४ वर्षपछि म जुन प्रकारको नेपाली चलचित्रसँग आवद्ध भइरहेको थिएँ। त्यो समय सापेक्ष भइरहेको थियो। त्यसले दर्शकहरूको स्वाद र रुचिलाई परिपूर्ति नै गरिरहेको थियो। जुन किसिमका पात्र गरिरहेको थिएँ, आम नेपाली समुदायलाई प्रतिनिधित्व गरिरहेको थिएँ। युवाहरू प्रभावित थिए।
हामी राम्रै ट्र्याकमा गइरहेका थियौँ। त्यसपछि विश्वभरि नै प्राविधिक परिवर्तन हुन थाल्यो। नयाँ नयाँ तरिकाले चलचित्र प्रस्तुत विश्वमा भइरहेको थियो। छिमेकी देशमा पनि नयाँ तरिकाले बनिरहेका थिए। चलचित्रको दृश्य खिच्ने र प्रस्तुत गर्ने तरिकामा क्रान्ति आइरहेको थियो। हामी चाहिँ कता कता पुरानालाई तन्काइरहेका थियौँ। मलाई चाहिँ हामीले प्रस्तुत गरेका सामग्री समय सापेक्ष छैन कि! सन् २००६ तिर मलाई पुराना चिजलाई चाहिनेभन्दा बढी तन्काइरहेका छौँ भन्ने भएको थियो।
मैले ७ वर्षअगाडि दर्शकको स्वाद र चाहनाअनुसार चलचित्र बने मात्र काम गर्ने तर गर्नैकै लागि नगर्ने भनेर बसेँ। यद्यपि अब म ३ हम्तापछि ७ वर्षको ग्याप मेट्न जाँदैछु। मलाई कता कता पहिलो चलचित्र गर्न जाँदैछु जस्तो लागिरहेको छ।
अरु राष्ट्रमा कलाकार र फ्यानको सम्बन्ध कस्तो छ थाहा छैन। तर मेरो राष्ट्रमा दर्शकसँग एक किसिमको आत्मीय सम्बन्ध पाउँछु। उहाँहरूको सामु गएर पहिलो पटक भेट्दा पनि घरकै सदस्यकै रुपमा ट्रिट गरेको पाउँछु। त्यो प्राप्त गर्न सकेको मा म आफ्नो कलाप्रति सम्मान गर्छु।