काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् ।
राजदूत हाश्मीले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।
सो अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा अध्यक्ष दाहालले नेपाल–पाकिस्तान कूटनीतिक सम्बन्ध ६ दशक पूरा भए पनि जनस्तरको सम्बन्ध वर्षौं पुरानो रहेको बताए । विभिन्न क्षेत्रीय र बहुपक्षीय फोरमहरूमा नेपाल–पाकिस्तान मिलेर काम गरिरहेको चर्चा गर्दै अध्यक्ष दाहालले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अध्यक्षको हैसियतले नेपालले पाकिस्तानलाई अध्यक्षता सुम्पिन आतुर रहेको बताए ।
‘सार्कको अध्यक्षता नेपालले गरिरहेको सन्दर्भमा यसको सक्रियताका लागि हामी निकै गम्भीर छौं,’ उनले भने, ‘सार्कलाई क्रियाशील बनाउन पाकिस्तानले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा म आशावादी छु । हामी पाकिस्तानलाई अध्यक्षता सुम्पन आतुर छौं ।’
२ देशबीच संयुक्त आर्थिक आयोग, द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र लगायतका विभिन्न फोरमहरू रहेको चर्चा गर्दै अध्यक्ष दाहालले तिनको क्रियाशीलताले मात्रै २ देशबीचको आपसी सहयोग र सहकार्य थप मजबुत र विस्तार हुने बताए ।
नेपालको संघीय संसद्ले नेपाल–पाकिस्तान मैत्री समूह गठन गरेको जानकारी गराउँदै अध्यक्ष दाहालले संसदीय अभ्यास अनुभव आदानप्रदान र सहकार्यका लागि संसदीय समूहको महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिए ।
पाकिस्तानले प्राविधिक सहायता कार्यक्रममार्फत् नेपाली विद्यार्थीलाई विभिन्न विषयमा छात्रवृत्ति प्रदान गर्दै आएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा छात्रवृत्तिको संख्यामा वृद्धि हुनेमा आफूहरू आशावादी रहेको बताए ।
नेपाल–पाकिस्तान लगायतका हिमाली तथा कम विकसित मुलुकहरू जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको भन्दै अध्यक्ष दाहालले पर्यावरणीय संकटको सामना गर्न सहकार्य, सहयोग र साझा समझदारी जरुरी रहेको बताए ।
जनताको ठूलो बलिदान र संघर्षपछि नेपाल शान्ति प्रक्रिया टुंग्याएर आर्थिक समृद्धिको बाटोमा लागिरहेको चर्चा गर्दै अध्यक्ष दाहालले पाकिस्तान सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरूलाई नेपालको जलविद्युत्, पर्यटन, आईसीटी लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
उनले हालै सम्पन्न पाकिस्तानको संसद् सिनेटको अध्यक्षमा निर्वाचित युसुफ रजा गिलानीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
सो अवसरमा पाकिस्तानी राजदूत अबरार एच हाश्मीले २ देशबीच कृषि, पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्य फलदायी हुने बताए । उनले नेपालमा साहसिक पर्यटन, सांस्कृतिक, पर्यावरणीय पर्यटनको अथाह सम्भावना रहेको चर्चा गर्दै २ देशबीच पर्यटन प्रवर्द्धनका कामहरू गर्न सके जनस्तरको झनै बलियो बन्ने विश्वास व्यक्त गरे ।
सार्कको गतिशीलता आफूहरूको पनि चाहना रहेको भन्दै राजदूत हाश्मीले त्यसको पुनर्ताजगीकरण गर्न जरुरी रहेको र त्यो निकै महत्त्वपूर्ण रहेको बताए ।
इन्टरनेट प्रविधिको विकासले नयाँ आयाम थपिएको भन्दै राजदूत हाश्मीले ई–कमर्श, आईसीटीका क्षेत्रमा २ देशले आपसमा सहयोग र सहकार्य गर्न सक्ने बताए ।