काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानबिन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानबिन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरेका हुन् ।
उपसभापति गुरुङले आफूमाथि आशङ्का भए तत्काल छानबिन गर्न पनि सरकार र संसद्को ध्यानाकर्षण गराए । उनले भने, ‘संसदीय छानबिन नै गर्नुपर्छ भने पनि म तयार छु । मेरो लागि यो सुवर्ण अवसर हुनेछ । तथापि प्रमाण लुकाउन सक्ने गृहमन्त्री जस्तो जिम्मेवार पदमा म छैन सभामुख महोदय । म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु । मेरा बारे लागेको आरोपको सत्य, तथ्य छानबिन गरिदिन म सम्माननीय सभामुख, माननीय गृहमन्त्रीजी, अनि सम्बद्ध निकायहरूलाई आग्रह गर्दछु । विगतमा पनि कुनै आरोप लाग्दा सम्मानित अदालतबाट निर्दोष साबित भएको स्मरण गराउन चाहन्छु । सहकारी ठगी सम्बन्धी प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयवस्तुलाई अन्तै मोड्न रचिएको यो घटनाको छिटो भन्दा छिटो छानबिन गर्न माग गर्दछु ।’
उनले थपे, ‘जुन मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, सञ्चालक समितिका सदस्यहरू, को–कोलाई छानबिन गर्नुपर्ने हो ? तुरुन्तै छानबिन गरियोस् । यदि यस विषयमा म माथि कुनै आशङ्का छ भने तुरुन्तै म माथि पनि छानबिन गरियोस् । कुनै पनि गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिन हुन्न भन्ने मान्यतामा म सधैँ अडिग छु सभामुख महोदय । जसले सुशासन कायम गर्नका लागि २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरू र नेपाल सरकारका कर्मचारीहरूको सम्पत्ति छानबिन हुनुपर्छ भनेर यसै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । उसैमाथि यत्रो आरोप ? जसले यसै संसद्मा गैरकानुनी कारोबार रोक्नका लागि ५ सय र हजारका आवाज उठाई रह्यो । उसैमाथि यत्रो षडयन्त्र ? त्यसैले यो पुनः षडयन्त्रकारी कदमको निष्पक्ष छानबिनको माग गर्दछु । धनराज गुरुङ खुला किताब हो । जसले जताबाट अनुसन्धान थाले पनि हुन्छ । ’
उपसभापति गुरुङले आफूले श्रीमती ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेको पनि बताए ।