काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउन स्पष्ट नीति र दृष्टिकोण आवश्यक पर्ने बताएका छन् ।
नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाल र नेपालीले नै बनाउने हो भन्ने स्पष्ट दृष्टिकोण राख्न आवश्यक रहेको बताए ।
‘कुनै पनि देश बनाउने कुरा भिजनको आधारमा हुने गर्दछ, नीतिको आधारमा हुने गर्दछ, नीति, दृष्टिकोण नभएका अराजकताको माध्यमबाट कुनै पनि देश बन्न सक्दैन,’ उनले भने ।
उनले देशमा राणा शान अन्त्य गर्ने, पञ्चायत ढाल्ने, प्रजातन्त्र र गणतन्त्र ल्याउने काम पुरानो पुस्ताले नै गरेको स्मरण गराए । अहिले स्पष्ट दृष्टिकोणका साथ विकास र समृद्धिको नेतृत्व गर्ने सरकार बनेको पोखरेलले दाबी गरे ।
देशमा अब राजनीतिक परिवर्तनको आन्दोलन सकिएको बताउँदै पोखरेलले अब विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताए । अब साना र धेरै राजनीतिक दल होइन, मुलुकलाई बलियो र समृद्ध बनाउन अब बलिया राजनीतिक शक्ति आवश्यक परेको पोखरेलका धारणा छ । ‘यो मुलुकमा विकास र समृद्धिको नेतृत्व गर्न सक्ने एक मात्र पार्टी नेकपा एमाले हो,’ उनले भने ।
पोखरेलले देश निर्माणको लागि स्पष्ट दृष्टिकोण राख्ने नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने पोखरेलले स्पष्ट पारे । एउटा अनुशासित पार्टीले मात्र यो काम गर्न सक्ने भन्दै त्यो काम नेकपा एमालेले मात्र गर्न सक्ने उनको दाबी छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली देशका नेताहरूमध्ये सबैभन्दा अध्ययनशील र नेपाली समाजलाई बुझेको र विकासको नवीन सोच प्रस्तुत गर्न सक्ने नेता भएको पोखरेलले दाबी गरे । ‘हामी उहाँको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको आकांक्षाका साथ अघि बढ्न चाहन्छौं,’ उनले भने ।
पोखरेलले अब सबै नेपाली युवा म बनाउँछु मेरो देश भन्ने संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए । यसो भयो भने समृद्ध नेपाल बनाउन सकिने उनको धारणा छ ।
कार्यक्रममा ३०० जना युवा एमालेमा प्रवेश गरेका नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।