लण्डन । बेलायतको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले परिषद्का संस्थापक वरिष्ठ साहित्यकार सुरेश जङ्ग शाहलाई ‘एनएलडिसी स्वर्ण पदक’ द्वारा सम्मान गर्ने भएको छ ।
परिषद्का वरिष्ठ सल्लाहकार डा. राघवप्रसाद धिताल ‘ओबीइ’ प्रमुख निर्णायक रहेको पुरस्कार छनोट समितिको सिफारिसमा परिषद्का अध्यक्ष कोमल मल्लको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आगामी जुलाईमा हुने ११०औ भानु जयन्तीका अवसरमा शाहलाई उक्त पुरस्कार प्रदान गरिनेछ । जुलाईमा परिषद् स्थापना भएको २८ वर्ष पुरा हुँदैछ ।
परिषद्को स्थापनाकाल सन् १९९५ मा नै स्थापना गरिएको २४ क्यारेटको एक तोला सुन र पाँच तोला शुद्ध चाँदीमा बनेको स्वर्ण पदक परिषद्मा आबद्ध भएर साहित्य सिर्जना र सेवाले विशिष्ट योगदान पुर्याएका सर्जकहरूलाई दिने गरिएको छ । नगद लिन चाहे जुनसुकै बेला एक लाख रूपैयाँ परिषद्बाट लिन सक्ने प्रावधान पनि परिषद्मा छ ।
यस अघि एनएलडिसी स्वर्ण पदक पुरस्कार सन् २००५ मा साढे दश वर्षको उमेरमा नै ‘गार्डेन अफ फ्लावर’ र ‘रोजेज् एण्ड पेटल्स्’ नामक दुई कवितासङ्ग्रह प्रकाशित गर्ने प्रतिभाशाली बाल कवि प्रेरणा थापालाई प्रदान गरिएको थियो ।
यसैगरी सन् २००९ मा वरिष्ठ कवि कोमल मल्ल र कवि तथा गीतकार घनबहादुर थापालाई, सन् २०१६ मा कवि तथा समाजसेवीद्वय ध्रुव केसी र हिरिविभोर कार्की र सन् २०१७ मा परिषद्को नेपाल च्याप्टरका प्रमुख सल्लाहकार वरिष्ठ कवि गोपाल पराजुलीलाई प्रदान गरिएको थियो ।
बेलायतमा तीन दशक बढी समयदेखि नेपाली साहित्य, पत्रकारिता र समाजसेवामा सक्रिय वरिष्ठ साहित्यकार तथा समाजसेवी सुरेश जङ्ग शाहका डेढ दर्जन कथा, कविता, नाटक, उपन्यास, जीवनीका मौलिक कृतिहरू प्रकाशित छन् भने फुटकर लेख रचना र पुस्तक समालोचना पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।
शाहका रचनाका तीन दर्जन भन्दा बढी गीत रेकर्ड भएर नेपाल तथा बेलायतमा रहेका विभिन्न कलाकारले गाएका छन् । सन् १९९२ मा बेलायत आए लगत्तै शाहले सगरमाथा टाइम्स पत्रिका प्रकाशन सम्पादन आरम्भ गरेर सन् १९९६ सम्म सम्पादक बनेका थिए ।
इन्टरनेट आइनसकेको त्यो जमानामा नेपालका समाचार बेलायतमा रहेका नेपाली समुदायको घरदैलोमा पुर्याउन उक्त पत्रिकाको महत्त्वपूर्ण योगदान थियो । शाहले सन् १९६० मा स्थापना भएको यती नेपाली एसोसिएसन यूकेको संस्थागत पत्रिका ‘यती पत्र’ को सन् १९९४ देखि सन् २००६ सम्म प्रधान सम्पादक भएर त्रैमासिक रुपले नियमित प्रकाशन गरे ।
यसैगरी सन् १९८६ मा स्थापना भएको कोसेली नेपाली सांस्कृतिक परिवार यूकेको संस्थागत पत्रिका ‘कोसेली ‘ को सन् २००३ देखि सन् २००६ सम्म प्रधान सम्पादक भए उनी ।
शाहले सन् २००३ देखि सन् २००४ सम्म ‘लन्डन पोस्ट’ म्यागेजिन र यस अघि सन् १९९८ मा ‘भ्रमण वर्ष ९८’ पर्यटन म्यागेजिनको प्रधान सम्पादक भएर पनि काम गरे ।
यसैगरी शाहले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूके स्थापना गरी विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्नुका साथै ‘लाली गुराँस’ साहित्यिक पत्रिका परिषद्को स्थापनाकाल सन् १९९५ बाटै आरम्भ गरी हालसम्म प्रधान सम्पादक भएर नियमितरूपले प्रकाशन गर्दै आएका छन् ।
यी छापा पत्रिकाबाहेक पनि शाह केशव श्रेष्ठ प्रधान सम्पादक तथा प्रकाशक रहेको ‘यूके चौतारी डट कम ‘ अनलाइन पत्रिका र गोपाल पौडेल प्रधान सम्पादक तथा प्रकाशक रहेको ‘ग्लोबल नेपाली न्युज डट कम ‘ अनलाइन पोर्टलमा समेत सम्पादक थिए ।
सन् १९९४ मा तत्कालीन समयका जागरूक युवाहरू कोमल मल्ल, चिरञ्जीवी ढकाल, गोपाल पौडेल, राजु थापा, ग्याल्साङ्ग लामा, राजकुमार थापा, कुशल बस्नेत, रामहरि रायमाझी, विजय थापा, प्रकाश थापा, भरत थापा, राजेन्द्र भुजु लगायतको सहभागितामा बेलायतमा पहिलोचोटी शाहको संयोजनमा युवा भेला गरेर समाजसेवामा युवा सहभागिता र अतिरिक्त विकासका लागि युवा एकता अभियान अगाडि सारिएको थियो ।
पुरस्कार वितरण समारोहमा नइ प्रकाशन नेपालबाट बेलायतका सर्जकहरूलाई प्रदान गरिएको ‘नइ कीर्ति अलङ्कार पदक’ पनि परिषद्का संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यबाट सुशोभन गरिने कार्यक्रम छ ।