काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् ।
बुधबार नेम्वाङको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेम्वाङ नेपालको राजनीतिक इतिहासमा सदैव सम्झिरहने व्यक्तित्व रहेको भन्दै उनको नाममा प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका हुन् ।
‘म उहाँको स्मृतिलाई ताजै राख्नका लागि र उहाँको सम्झनामा उहाँका आदर्शहरूलाई पछ्याएर केही काम गरिरहनका लागि हामी सुवासचन्द्रजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौ भन्ने घोषणा गर्दछु’, प्रधानमन्त्री ओलीले घोषणा गरे । साथै उनले सुवास नेम्वाङले गरेको योगदान अमर रहेको पनि बताए ।
‘पहिलो पटक जनता आफैँले संविधान सभामार्फत बनाएको संविधानको नेतृत्व सुवासजीले गर्नुभएको थियो । उहाँ कुर्सीमा मात्र बस्नुभएको थिएन, वैचारिक नेतृत्व पनि गर्नुभएको थियो’, ओलीले नेम्वाङलाई स्मरण गरे ।
त्यो प्रतिष्ठान बनाएर छोड्नेमात्र नभएर नेताहरूको आदर्श, विचार र नेताहरूले हिँडेको बाटो, व्यवहार आचरण इच्छाअनुसार चलाइने ओलीले बताए । साथै उनले अहिले निष्क्रिय रहेका प्रतिष्ठानहरूलाई सक्रिय बनाइने बताए । कतिपय प्रतिष्ठानहरू निष्क्रिय रहेको भन्दै पुष्पलाल प्रतिष्ठानको नेतृत्व माधव नेपालले निजीजस्तै बनाएको आरोप लगाए ।
‘पुष्पलालको नाममा प्रतिष्ठान बनाएका थियौँ । त्यो अहिले माधव नेपालले कब्जा गर्नुभएको छ । पुष्पलालजी फुट्नुभएको हो र ? पार्टी फुटेको हो, त्यसैले प्रतिष्ठानहरू कसैले कब्जा गरेर बस्न हुँदैन’, ओलीको भनाइ छ । ओलीले नेम्वाङका नाममा बन्ने प्रतिष्ठानको नेतृत्वबारे शुक्रबार बस्ने सचिवालय बैठकले निर्णय गर्ने पनि बताए ।