काठमाडौं । विस्तृत मर्मत (सीचेक) का लागि इटालीको नेपल्स पठाइएको नेपाल वायुसेवा निगमको वाइडबडी अन्नपूर्ण आज बिहान ८:३६ बजे काठमाडौं अवतरण गरेको छ ।
‘इटालीबाट निगमका पाइलटहरूले उडाएर अहिले बिहान काठमाडौं जहाज ल्याएका हुन,’ निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘सीचेकपछि नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूले जाँच गरेपछि यस्लाई व्यवसायिक उडानमा राखिने छ ।’
सीचेकको ठेक्का लिने मेन्टिनेन्स, रिपेयर, ओभरहल गर्ने एमआरओ कम्पनी एटिटेकले एक महिनाभित्र जहाज फर्काउने सम्झौता गरेको थियो । सम्झौताअनुसार असार ९ गते इटाली पठाइएको यो वाइडबडी ढिलोमा ४५ दिन भित्र आइसक्नु पर्ने थियो । तर यो ८२ औं दिनमा आज नेपाल आइपुगेको हो ।
निगमको अर्को वाइडबडी मकालु पनि भदौं १२ गते सीचेककै लागि इटाली पठाइएको छ । व्यवस्थापकीय लापरबाहीले दुवै वाइडबडी एकैसाथ सीचेकमा पठाइँदा निगमले नाफाको काठमाडौं–नारिता उडान रद्द गर्दै आइरहेको छ । यो जहाजको सीचेक प्रक्रियागत ढंगबाट भएको प्राधिकरणका प्राविधिकहरूले जाँच सकेपछि यसले शुक्रबारदेखि नारिता उडान गर्ने निगमले जनाएको छ । त्यस्तै निगमले अरु कटौती गरेका गन्तव्यमा पनि उडान सञ्चालन गर्ने जनाएको छ ।
एउटा वाइडबडी उडानमा नहुँदा निगमले दैनिक डेढदेखि २ करोड रुपैयाँ बराबरको कारोबार गुमाउँछ । निगमले हाल नारिता, क्वालालमपुर, बैंकक, हङकङ, बैंग्लुरु, मुम्बई, दिल्ली, दोहा, दुबई र दमाममा सातामा एकदेखि सातवटासम्म उडान गर्ने तालिका राखेको छ ।
यी गन्तव्यहरूका लागि निगमसँग दुई वटा न्यरोबडी र दुई वटा वाइडबडी विमान छन् । दुई वटा वाइडबडी सीचेकमा गएकाले अन्तर्राष्ट्रिय उडानका लागि बिहीबारसम्म सार्वजनिक तालिकामा दुई वटा न्यरोबडीमात्रै थिए । आज जिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको वाइडबडीको सीचेकमा कुनै कैफियत नआए शुक्रबारदेखि निगमले अन्तर्राष्ट्रिय उडानलाई लयमा फर्काउने दाबी गरेको छ ।