काठमाडौं । सरकारी जागिर भनेपछि जो पनि हुरुक्कै हुन्छन् । आफ्नो छोराछोरीले सरकारी जागिर खाएको हेर्नु हरेक बुबा आमाको सपना हुन्छ । त्यसैले पनि हरेक अभिभावकले आफ्नो छोराछोरीलाई सानै उमेरदेखि सरकारी जागिर खानुपर्छ है भनेर सुनाउँछन् र सिकाउँछन् । त्यसको प्रभाव अबोध बालबालिकामा पनि पर्छ । केही बालबालिकामा सानै उमेरदेखि सरकारी सेवामा लाग्नुपर्छ भन्ने छाप बसेको हुन्छ ।
त्यस्तै छाप दाङका श्रीधर के.सीमा पनि सानै उमेरदेखि बसेको थियो । दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा जन्मिएका के.सी हाल भक्तपुर जिल्लाको सूर्य विनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुन् । जीवनको ४० औँ वसन्त पार गरिसकेका प्रमुख के.सी सानै उमेरदेखि निजामती क्षेत्रमा चासो दिने गर्थे । भन्छन्, 'मेरो घरको सदस्य पनि निजामती क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । उहाँहरूले निजामती क्षेत्रको बारेमा बुझाउनुहुन्थ्यो र आफ्नो पढाई पुरा गरेपछि निजामती क्षेत्रमा जानको लागि प्रेरित गर्नुहुन्थ्यो । त्यसैले पनि मलाई यस क्षेत्रलाई बुझ्न त्यति असहज भएन ।'
जनताको सेवा गर्न चाहनेले विभिन्न दबाबलाई अवसरका रूपमा परिणत गर्न सक्नुपर्छ ।'
घरपरिवारको प्रेरणाले नै उनले निजामती कर्मचारी बन्ने लक्ष्य बनाएका थिए । सानै उमेरदेखि मेहनती र लगनशील के.सीको पढाइमा उत्तिकै लगाव थियो । उनले प्राथमिक शिक्षादेखि स्नातक तहसम्मको अध्ययन गृह जिल्ला दाङबाटै सम्पन्न गरेका हुन् । त्यसपछि उनी स्नातकोत्तर तहको अध्ययन गर्न काठमाडौं उक्ले । वि.सं. २०६५ सालमा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका के.सीले एक वर्ष काठमाडौंमै उच्च माध्यमिक विद्यालयमा अध्यापन गराउने काम गरे ।
केसी विगत यसरी सम्झन्छन्, 'विद्यालयमा अध्यापन गराउने क्रममा लोकसेवा आयोगको परीक्षा दिएको थिएँ । तर, पहिलो प्रयासमा म असफल रहें ।' लोकसेवाको परीक्षामा असफल भएपछि निराश हुँदै उनी आफ्नै जन्मथलो दाङ फर्किए । घरमा परिवारको साथ सहयोग पाएपछि हिम्मत नहारी पुनः लोक सेवाको परीक्षा दिने निर्णय गरेको उनी सुनाउँछन् ।
भनिन्छ नि निरन्तर प्रयास गर्ने हो भने असम्भव केही छैन । उनी दोस्रो प्रयासमै निजामती क्षेत्र प्रवेश गर्न सफल भए । आफ्नो सफलताको अनुभव उनी यसरी सुनाउँछन्, 'एक/दुई पटक असफल हुँदैमा निराश हुनुपर्दैन । इमान्दार भएर निरन्तर मेहनत गर्यो भने आफ्नो सपना पुरा गर्न सकिन्छ । मेहनत गर्न सक्नेको लागि निजामती क्षेत्र अत्यन्तै उपयोगी हुन्छ ।'
एउटै कार्यालयमा धेरै प्रकारका काम हुने भएकाले सेवा प्रवाह सहज, छिटो छरितो, प्रभावकारी, कुशल तरिकाले भूमिका निभाउन एकदम असहज हुने केसी बताउँछन् ।
उनले निजामती क्षेत्रमा काम गरेको १३ वर्ष भइसकेको छ । शाखा अधिकृतबाट निजामति क्षेत्रमा प्रवेश गरेका उनी ७ वर्षमै उपसचिव बन्न सफल भए । सहयोग गर्नुपर्ने पक्षले उल्टो सरकार र सरकारी निकायमाथि अविश्वास र असहयोग गरे जुनसुकै सरकार आएपनि सफल नहुने उनी बताउँछन् । देशको दुर्गतिको अन्त्यका लागि सरकार र सरकारी निकायप्रति विश्वास गर्नुपर्ने उनको भनाई छ ।
उनी भन्छन्, 'निजामती क्षेत्रमा चुनौती नभएको होइन तर, त्यसलाई समाधान कसरी गर्ने आफूमा भर पर्ने विषय हो ।'
निजामती कर्मचारीको मुख्य काम भनेकै सरकारको नीति, कार्यक्रम र बजेट बनाउने हो । त्यसको जिम्मा कर्मचारीको हुन्छ । चाहे सेवा प्रवाहको विषय होस् वा विकास निर्माणको कुरा होस् । जिल्ला प्रशासनका प्रमुखले समग्र जिल्लाकै जिम्मा लिनुपर्ने हुन्छ भने नगरपालिकामै पनि विकासका काम देखि सेवा प्रवाह र सुशासनको प्रत्याभूति दिलाउने चुनौती हुन्छ ।
कर्मचारीको उचित व्यवस्थापन नहुँदा, बजेटको अभाव हुँदा तथा कानुनी अड्चनले पनि धेरै चुनौती देखा परेको प्रमुख केसीको भनाई छ । त्यस्ता चुनौती छन् भनेर अल्झेर बस्ने भन्दा पनि जे जति स्रोतसाधन छन् त्यसको सही सदुपयोग गर्नुपर्ने उनी बताउँछन् । भन्छन् 'प्रशासन क्षेत्र विभिन्न क्षेत्रबाट घेरिएको छ । तर जनताको सेवा गर्न चाहनेले विभिन्न दबाबलाई अवसरका रूपमा परिणत गर्न सक्नुपर्छ ।'
के हो कर्मचारीतन्त्र ?
निजामती सेवा भनेको एकाधिकार भएकाले विकल्पको कुरा नआउने उनी बताउँछन् । एउटै कार्यालयमा धेरै प्रकारका काम हुने भएकाले सेवा प्रवाह सहज, छिटो छरितो, प्रभावकारी, कुशल तरिकाले भूमिका निभाउन एकदम असहज हुने केसी बताउँछन् ।
एउटा राज्यलाई चलाउन चाहिने कानुन, विधि, कर्मचारी, निर्वाचित प्रतिनिधि आदिबाट आएका कुराको सही समायोजन गर्ने मुख्य जिम्मेवारी कर्मचारीतन्त्रको हो ।
नेपाल जस्तो गरिब देशमा सरकारी मात्र नभएर निजी क्षेत्रमा पनि व्यापक भ्रष्टाचार भएकाले त्यसलाई रोक्न धेरै चुनौती रहेको समेत केसीको बुझाई छ । निजामती कर्मचारी क्षेत्र मात्र नभएर सम्पूर्ण सरकारी नियमनमा रहेका सार्वजनिक प्रशासन संगठन संरचनामा आबद्ध भई ऐन, नियम, कानुनको निष्पक्ष कार्यान्वयन गरी देश र जनताको निरन्तर सेवा गर्ने कर्मचारीको पेशागत समूह कर्मचारी तन्त्र हो । कर्मचारीतन्त्रलाई संगठनको संरचना, कार्यविधि, कर्मचारी र कर्मचारीको कार्य संस्कृतिको समष्टि स्वरूपका रूपमा पनि बुझ्न सकिन्छ ।
सरकारको नीति तथा कार्यक्रम बनाउन विशेष भूमिका निर्वाह गर्ने स्थायी संयन्त्र हो कर्मचारी तन्त्र । सार्वजनिक प्रशासनको मुख्य काम नीति तथा कार्यक्रम लाई सही तवरबाट समायोजन गर्ने पनि हो । एउटा राज्यलाई चलाउन चाहिने कानुन, विधि, कर्मचारी, निर्वाचित प्रतिनिधि आदिबाट आएका कुराको सही समायोजन गर्ने मुख्य जिम्मेवारी कर्मचारीतन्त्रको हो ।
कर्मचारीतन्त्रको प्रकृतिको दृष्टिले सबै संस्थाहरू कर्मचारीतन्त्रको अवधारणाको दायराभित्र रहे पनि प्रवृत्तिका दृष्टिले भने संस्था पिच्छे फरक–फरक अवस्था रहने केसी बताउँछन् । नागरिकलाई सेवा र विकासको प्रवाह गर्न स्थापित अनुभव, ज्ञान र पेशागत दक्षता भएका मानिसहरूको समूह कर्मचारीतन्त्र हो ।
विदेशको तलबसँग नेपालको तलब स्केल दाँज्ने व्यक्तिलाई यो पेसामा नआउन उनको सुझाव छ ।
यो निश्चित मूल्य, मान्यता र सिद्धान्तमा आधारित रहन्छ । देशको शासन व्यवस्था सुचारु गर्ने स्थायी र शक्तिशाली संयन्त्र पनि कर्मचारीतन्त्र हो ।
आर्थिक चुनौती वा सहजता
ठुलठुला घर बनाउने, महँगा गाडी चढ्ने, पाँच तारे होटलमा खाना खाने, ब्रान्डका कपडा लगाउने चाहना राख्नेलाई सरकारी सेवामा नआउन केसीको सुझाव छ । उनी त्यस्ता जीवनशैली बाँच्न चाहने व्यक्तिलाई कुनै व्यापार व्यवसाय गर्न सुझाउँछन् । तर कर्मचारीलाई उपलब्ध गराइनुपर्ने सेवा, सुविधा र सहुलियतमा आवास, स्वास्थ्य, पोषण र शिक्षा सुविधा, आराम र मनोरञ्जन, बिदा, निवृत्तिभरण, उपदान, सञ्चय कोष, बिमाजस्ता विषयको उचित लागु र नियमन नभएको उनको गुनासो छ ।
उनी भन्छन् 'तलब सुविधा अलिकति कम नै हो तर यसको मतलब जीवन जिउनै नपुग्ने पनि होइन ।' सामान्य दाल-भात खान, छोराछोरीलाई सामान्य विद्यालयमा पढाउन, सामान्य जीवनयापन धान्न सरकारले दिएको तलबले पुग्ने केसीको भनाई छ । सबै कर्मचारीले सामान्य जीवन जिउनुपर्ने उनको धारणा समेत छ ।
सरकारले तलब दिँदा आफ्नो राजश्वको क्षमताले दिने भएकाले देशले विकासले गति लिँदा कर्मचारीले पनि आफ्नो उचित सुविधा पाउने उनको बुझाई छ । देश जति गरिब भयो त्यति नै समस्या उत्पन्न हुने भएकाले आफ्नो तलब भन्दा पनि देशको हितमा काम गर्नुपर्ने उनको धारणा छ ।
निजामती सेवामा आउन चाहनेलाई सुझाव
सरकारी सेवामा लाग्ने व्यक्ति पैसा कमाउन नभएर सेवा दिने अभिप्रायले आउनुपर्ने उनी बताउँछन् । प्रमुख केसी सेवा भावले काम गर्ने भएकाले आर्थिक अनियमितता नहुने उनको भनाई छ । 'पढ्नु र लेख्नुपर्छ पैसा र पावरले यो क्षेत्रमा छिर्न सक्दिन भन्ने कुराको ज्ञान हुनुपर्छ ।
नागरिकको सेवा प्रवाहको गुणस्तर, सामाजिक आर्थिक तथा भौतिक पूर्वाधार विकासको गति, परिवर्तन र सुधार प्रतिको रूपमा लिई निजामती सेवा सुचारु हुनुपर्छ', उनी भन्छन् , 'निजामती सेवामा के कस्ता मूल्य मान्यता हुन्छन् त्यसको धरातलमा टेकेर र म आफ्नो जीवन जनताको सेवामा व्यतीत गर्न सक्छु भन्ने मनोबल भए र अनुशासित हुने हो भने निजामती क्षेत्रमा रम्न सकिन्छ । सरकारले दिएको तलब सुविधाले जीवन धान्न सक्छु भन्ने आँट यस क्षेत्रमा लाग्न चाहनेले गर्नुपर्छ ।'
कर्मचारीलाई उपलब्ध गराइनुपर्ने सेवा, सुविधा र सहुलियतमा आवास, स्वास्थ्य, पोषण र शिक्षा सुविधा, आराम र मनोरञ्जन, बिदा, निवृत्तिभरण, उपदान, सञ्चय कोष, बिमाजस्ता विषयको उचित लागु र नियमन नभएको उनको गुनासो छ ।
तलब स्केल थोरै भएपनि कर्मचारीको लागि अरू थप सेवा सुविधा सरकारले दिएकाले एक किसिमको ऊर्जा आउने उनको बुझाई छ । क्षमताका आधारमा विभिन्न देशको भ्रमण देखि तालिममा उपस्थिति हुन पाइने कुरा पनि सकारात्मक ठान्छन् केसी । राम्रो काम गर्ने मान्छेलाई सरकारले पनि अवसर दिने काम गरिरहेको उनी बताउँछन् ।
विदेशको तलबसँग नेपालको तलब स्केल दाँज्ने व्यक्तिलाई यो पेसामा नआउन उनको सुझाव छ । मेहनत गर्ने बानी र आत्मविश्वास भएमा सजिलै यस क्षेत्रमा छिर्न सकिने उनले बताए ।