काठमाडौं । नेकपा एमालेले पार्टीलाई सुदृढ बनाउने योजनासहित वार्षिक कार्ययोजना पारित गरेको छ ।
शुक्रवार बसेको सचिवालयको ३६औं बैठकले पार्टीको वार्षिक कार्ययोजना पारित गरेको हो ।
महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजनामा १८ विषय समेटिएका जानकारी दिए । पार्टी सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण तथा नियमित रूपमा अधिवेशन र व्यवस्थापनअन्तर्गत बाँकी रहेका जिल्लाहरूको अधिवेशन कात्तिक महिनाभित्र सम्पन्न गर्ने एमाले कार्ययोजनामा छ ।
पार्टी प्रवेश गरेका र अधिवेशनहरूबाट बिदा भएका नेता–कार्यकर्ताहरूलाई ३ महिनाभित्र पार्टीका तर्फबाट यथोचित जिम्मेवारी दिन गृहकार्य गर्ने, पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्यांकन विधि निर्माण गर्ने र कमिटी भित्रको अन्तर्विरोध व्यवस्थापनलाई आधार बनाएर कार्ययोजना बनाएको एमालेले जनाएको छ ।
एमालेले प्रत्येक वर्ष पार्टीका सम्पूर्ण कार्यकर्ता स्कूलिङमा सामेल हुनुपर्ने, सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने विषय पनि कार्ययोजनामा समेटिएको महासचिव पोखरेलले जानकारी दिए ।
केन्द्रदेखि वडासम्मका पार्टी कार्यालयहरू व्यवस्थापन, प्रचारमा सोसल मिडिया परिचालन, कामका नयाँ क्षेत्र पहिचान र जिम्मेवारी, सबै तहका कमिटीमा वार्षिक बजेट तय गर्ने, पार्टी शुद्धीकरण अन्तर्गत जीवनशैली जनतामा स्वीकार्य हुनुपर्ने एमालेको कार्ययोजनामा उल्लेख रहेको जनाइएको छ ।
एमालेले ४० वर्षमुनिका युवाहरूको ‘यूथ समिट’ गर्ने योजना बनाएको छ । पार्टी कार्ययोजनाबारे यसअघि पोलिटब्युरो बैठकमा पनि छलफल गरिएको थियो ।