काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनालाई खोज्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय समितिको बैठकले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई), भरत महर्जन सहितका २७ जनाको खोजबिनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ ।
बैठकबारे जानकारी दिँदै समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले शुक्रबारको पहिलो बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिनेबारे महत्त्वपूर्ण छलफल गरेर छलफल प्रक्रियाको कार्यसूची, छलफलको योजना, वित्तीय विश्लेषणबारे जानकारी, त्यसउपर छलफल, प्रस्तुत तथ्य–तथ्यांकमा छलफल र प्रस्तुतीकरणको शैली ढाँचामा गर्ने छलफललाई व्यवस्थित गर्ने निर्णय भएको जानकारी दिए ।
दोस्रो बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई आमन्त्रित गरिएको र विदेशमा फरार रहेका जीबी राई, भरत महर्जन सहितका २५ जना व्यक्तिहरूबारे सरकारले खोजबिनका सन्दर्भमा के–के प्रगति हासिल भयो भनेर जानकारी लिने उनले बताए ।
उनले राजनीतिक नेतृत्व तहमा कुरा भइसकेको विषय भएकाले प्रहरी र इन्टरपोलको माध्यमबाट गरिने विषयभन्दा फरक स्थितिमा रहेको भन्ने जानकारी गृह मन्त्रालयले दिएको बताए । विदेश फरार हुनेमा २५ जना रहेकोमा शुक्रबार पुनः २ जनालाई थप गरी (सूर्यदर्शन सहकारीको लेखा प्रमुख बुद्धि गुरुङ, आर्जन बचत तथा ऋण सहकारीको फरार सचिव विदेशमा रहेको भनिएको दीपक थापा) गृह मन्त्रालयलाई पत्राचार गरिएको बताए ।
समितिको प्रतिवेदनको कामलाई अन्तिम रूप दिन शनिबार पुनः बैठक बस्ने उनले बताए ।