काठमाडौं । पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले नेपालले सुरक्षित पर्यटन (सेफ टुरिजम) प्रवर्द्धन गर्दै विश्वभर उदाहरणीय सन्देश पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
पर्यटन विभागले आयोजना गरेको विशेष छलफल कार्यक्रममा बोल्दै डा. रेग्मीले नेपालको पर्यटन गन्तव्य केवल प्राकृतिक सौन्दर्यका लागि मात्र नभई सुरक्षाको दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको उल्लेख गरे । यद्यपि, नेपालको सडक, हवाई यात्रा, र हिमाली क्षेत्रका पूर्वाधारहरूलाई अझ सुधार गर्नुपर्ने अवस्था रहेको उनको धारणा थियो। उनले पर्यटकहरूका लागि आवासीय व्यवस्थापनमा सुधारको खाँचो औँल्याउँदै भने, “पर्यटकहरूको जीवन, मनोरञ्जन र उनीहरूको रुचिलाई ध्यानमा राखेर विभागले काम गरिरहेको छ।”
महानिर्देशक रेग्मीले विभागले हाल तीन प्रमुख प्राथमिकतामा काम गरिरहेको जानकारी दिए। “पहिलो, कानुन, नियमन र कार्यविधिहरू तयार गर्दैछौं। दोस्रो, निजी क्षेत्र, पर्यटन बोर्ड र सम्बन्धित संघ(संस्थासँगको सहकार्यलाई सशक्त बनाएर पर्यटन प्रवर्द्धनमा अघि बढ्दै छौँ। तेस्रो, उद्धार र राहत कार्यहरूमा विशेष ध्यान दिइरहेका छौँ,” उनले थपे।
साथै, उनले आगामी विश्व पर्यटन दिवसलाई भव्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिँदै, यस अवसरले नेपाललाई विश्व पर्यटनको मानचित्रमा थप मजबुत रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले सुरक्षित पर्यटनको प्रवर्द्धन गर्न सरकारको नीतिगत पहल तथा निजी क्षेत्रको सक्रिय सहयोगले नेपाललाई दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्न मद्दत पुर्याउने लक्ष्य रहेको प्रष्ट पारे।
नेपालको पर्यटनले विश्वमा सुरक्षित र आकर्षक गन्तव्यको पहिचान बनाउन सक्ने उल्लेख गर्दै, उनले निकट भविष्यमा नेपालको पर्यटन क्षेत्र अझ उन्नत हुनेमा विश्वास व्यक्त गरे।