काठमाडौं । २०७९ को चुनाव परिणाम हेर्दा समानुपातिकतर्फ कुल सदर मतमध्ये वामपन्थी दलहरूले ४२.७२ प्रतिशत मत पाएका छन् । १६५ निर्वाचन क्षेत्रमा एक करोड ५ लाख ६० हजार ८२ कुल सदर मत खसेकोमा वामपन्थी दलहरूले ४५ लाख ११ हजार ४०५ मत पाएको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ ।
यो मत निर्वाचन आयोगमा दर्ता भएर चुनावमा भाग लिएका वामपन्थी दलहरूको मात्र हो । निर्वाचन प्रक्रियाबाट बाहिरिएका नेत्रविक्रम चन्द ‘विप्लव’, क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत स–साना घटकको जनमतसमेत जोड्ने हो भने यो मत अझै बढ्छ ।
२०७४ को निर्वाचनमा ४३ प्रतिशत मत एमाले र माओवादी केन्द्रको मात्रै थियो । आयोगको तथ्याङ्क अनुसार १४ वटा वामपन्थी दलमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रमात्र राष्ट्रिय दल बन्न सफल छन् ।
संसदको सिट सङ्ख्याको आधारमा दोस्रो ठुलो दल रहेको एमाले लोकप्रिय मतमा नेपाली कांग्रेसभन्दा अगाडि छ । तर गणतन्त्र स्थापनापछिको १६ वर्षमा ०७४ मा बाहेक वामपन्थीको एकल सरकार बन्न सकेन । नेपालको कम्युनिस्ट इतिहासमै सर्वाधिक लोकप्रिय मत पाएको नेकपा नेतृत्वको सरकार ४० महिनामै विघटन भयो ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७६ वर्षमा तीन दर्जनभन्दा बढी टुक्रामा विभाजन भइसकेको छ । मिल्दा एकले अर्कालाई देवत्वकरण गर्ने, नमिल्दा राक्षसीकरण गर्ने सबैभन्दा ठुलो रोग कम्युनिस्ट पार्टीमा देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो– प्रतिनिधि सभामा देखिएको एमाले र माओवादी द्वन्द्व ।
माओवादी जनयुद्धलाई सत्तारुढ एमालेका सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि माओवादीका सांसदहरू क्रुद्ध बने । सोही विषयलाई लिएर एमाले र माओवादीबिच संसदमा झण्डै भिडन्तको स्थिति सिर्जना भयो । वामपन्थी जनमत अत्यधिक भए पनि वर्गीय सङ्घर्ष अन्त्य गरी समाजवादमा पुग्न उनीहरू किन एक ठाउँमा उभिन सक्दैनन् ? सहकार्य एकले अर्कोलाई महान् देख्ने तर सत्ताबाट बाहिरिने बित्तिकै एकअर्कालाई गद्दार, दक्षिणपन्थी संशोधनवादको आरोप लगाउने प्रवृत्ति किन बढ्दैछ ? वामपन्थी शक्ति आपसमा भिड्दा फइदा कसलाई पुगेको छ ? मतभेद वैचारिक, सैद्धान्तिक हो कि व्यक्तिगत कुण्ठा ? यस्ता प्रश्नबारे नेताहरूले आफू अनुकूल तर्क पेस गर्ने गरेका छन् ।
पार्टी कामको सिलसिलामा सोमबार प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको बिर्तामोड पुगेका पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्व बुर्जुवाकरण भएकाले वामपन्थी एकता सम्भव नभएको बताए ।
‘एमालेभित्रका इमानदार नेता तथा कार्यकर्तालाई समेटेर एउटै बलियो कम्युनिस्ट पार्टी बनाउन मैले धेरैपटक पहल गरे । तर त्यसको नेतृत्व यति बुर्जुवाकरण र दलालहरूसँग जोडिएको छ कि गधालाई धोएर गाई नहुनेजस्तै सम्भव भएन’, स्थानीयसँगको कुराकानीमा उनले भनेका थिए ।
संयुक्त राष्ट्र संघको महासभामा जानुअघि प्रधानमन्त्री ओलीले संसदको रोष्टममा उभिएर घुमाउरो शैलीमा माओवादी आन्दोलन हिंसात्मक भएको बताए । सार्वजनिक रूपमै माओवादी नेताहरूमाथि ओलीले ‘अराजनीतिक टिप्पणी गर्दै आएका छन् । माओवादीले पनि एमाले नेताहरूको भण्डाफोर गर्न कुनै कसर बाँकी राखेको छैन । केही समयअघि ओलीले सार्वजनिक मञ्चबाटै पूर्वप्रधानमन्त्री माधव नेपाललाई लक्षित गरी ‘नाम लिँदा पनि मुख कुल्ला गर्नुपर्छ’सम्म भन्न भ्याए । तर गत फागुन २२ गते माओवादी–एमाले सत्ता समीकरण गडबड हुने देखिएपछि ओली उनै माधवको घरसम्म पुग्न भ्याए ।
कम्युनिस्ट पार्टीहरू किन मिल्दैनन् ?
कम्युनिस्ट पार्टी बारम्बार फुट्नु र जुट्नु, तल्लो स्तरमा पुगेर एकले अर्कालाई होच्याउनु, गालीगलौज गर्नु नयाँ विषय नभएको विश्लेषकहरूको भनाइ छ । आखिर कम्युनिस्ट पार्टी नमिल्नुको पछाडि आन्तरिक फ्याक्टर प्रधान हो कि बाहिरी फ्याक्टर प्रधान हो भन्ने विषयमा उनीहरूको आफ्नै तर्क छ ।
यद्यपि पछिल्लो समय सत्ता स्वार्थ र शक्ति सङ्घर्ष पार्टी विभाजन वा नमिल्नुको मुख्य कारण भएको अधिकांशको मत छ । वामपन्थी आन्दोलनबारे विद्यावारिधि गरेका विश्लेषक डा. सुरेन्द्र केसीले वामपन्थी दलहरू नमिल्नुको मुख्य फ्याक्टर आन्तरिक भएको बताउँछन् । मध्यमवर्गीय चरित्र, महत्त्वाकाङ्क्षी र पदभोगी भएकाले नेपालको कम्युनिस्ट आन्दोलनमा विचलन आएको उनको भनाइ छ ।
‘यिनीहरू आधारभूत मानिस होइनन् । यिनीहरू मध्यमवर्ग, महत्त्वाकाङ्क्षी र पदभोगी हुन् । पदलाई केन्द्रबिन्दु बनाएर आन्दोलनमा केन्द्रित भएपछि समस्या आएको हो । राजनीतिक शास्त्रमा सिद्धान्ततः आन्तरिक फ्याक्टर प्रधान हुन्छ’, उनले भने, ‘तर नेपालमा बाहिरी फ्याक्टर सहायक हो । अवसरवादीले जतिखेर जेपनि गर्न सक्छन् । हिजो नेकपाको नाममा एक ठाउँमा आए, फेरि टुटे । अवसरवाद, पद र प्रतिष्ठाका कारण मिल्न पनि सक्छन् । अवसरवादीको कुनै इमान, रूप र चरित्र हुँदैन ।’
माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पुँजीवादी शक्तिले कम्युनिस्टहरूलाई मिल्न नदिए पनि मुख्य कारण आन्तरिक भएको जिकिर गरे ।
‘पुँजीवादीहरू समग्र कम्युनिस्टहरू एक ठाउँमा नआउन् भन्ने चाहन्छन् । वामपन्थी आए उनीहरू कमजोर हुन्छन् । ती सहायक विषय हुन् । मुख्य त हाम्रो आन्तरिक विषय प्रधान हो’, गजुरेलले भने, ‘विचारलाई दह्रोसँग पक्रिन नसक्दाको परिणाम हो । विचार, नीति, विधि, मूल्य, मान्यता बमोजिम नेताहरूको कार्यशैली, आचरण बलियोसँग पक्रिन नसक्दा विचलन आएको हो ।’
एमालेको बुर्जुवाकरण नै नेपाली कम्युनिस्ट आन्दोलनको मूख्य समस्या भएको गजुरेलको विश्लेषण छ । त्यसको प्रभावबाट पछिल्लो समय माओवादी पनि अछुतो नरहेको उनले बताए ।
उनले भने, ‘एमालेमा अलिकति लेफ्ट छ तर बुर्जुवाकरण भइसकेको छ । कम्युनिस्टको लोगोमात्र छ । हामी पनि बुर्जुवाकरणतर्फ बढिराखेका थियौँ । त्यसलाई रोक्नका लागि हामी अहिले आन्तरिक छलफलमा छौँ । हामी पनि कतै न कतै वर्गबाट विचलित भएकै हो । वर्गीय संरचना कमजोर भएकै हो । आचरण र जीवन शैलीमा विचलन आएकै हो । त्यसलाई सच्याउन सकिन्छ ।’
कम्युनिस्टहरू कम्युनिस्टका रूपमा नरहँदा आपसमा लडिराखेको गजुरेलको तर्क छ । ‘कम्युनिस्टका रूपमा रहेका भए सहकार्य भइहाल्थ्यो नि’, उनले भने ।
एमाले अनुशासन आयोगका पूर्वअध्यक्ष अमृतकुमार बोहोराले पनि वामपन्थीबिच एकता नहुनुमा आन्तरिक कारण मूख्य भएको स्वीकारेका छन् । नेताहरूको आ–आफ्नै दम्भ, अहमता, कुण्ठा र सत्ता स्वार्थका कारण वामपन्थीहरू एक ठाउँमा आउन नसकेको उनको बुझाइ छ ।
‘मूल कुरा आन्तरिक हो । हामी आन्तरिक शक्तिहरू आफ्नो लक्ष्य र उद्देश्यका निम्ति सुस्पष्ट, दृढ हुन्छौँ । त्यसमा भरोसा गर्छौं । अरुले फुटाउन खोजेर हामी फुट्ने होइन । तर त्यो प्रयास भइराख्छ,’ उनले भने, ‘६२ प्रतिशत जनमत भएर पनि एक ठाउँमा उभिन नसक्नु कमजोरी हो ।’
कम्युनिस्टहरू एक ठाउँमा उभिन सक्नुपर्थ्यो भन्ने मत प्रकट गरे । ‘तर आ–आफ्नै ढिपी, अहमता, कुण्ठा मिश्रित छन् । यसमा सत्ता स्वार्थ त हुने नै भयो । अलिअलि वैचारिक र सैद्धान्तिक पनि मिसिएको छ,’ उनले भने ।
सैद्धान्तिक र वैचारिक मतभेद पहिले पनि हुने गरेको स्मरण गर्दै बोहोराले अहिले सत्ताकेन्द्रित राजनीति हावी हुँदा एकतामा समस्या आएको निष्कर्ष निकाले । लक्ष्यसँग जोडिएको भए यस्ता विवाद गौण हुने उनको भनाइ छ ।
‘वामपन्थी दलहरूमा सत्ता प्रधान भयो । सैद्धान्तिक र वैचारिक पक्ष गौण भयो । त्यसले गर्दा अहिलेको स्थिति आयो’, उनले भने ।
यस्तो छ एमाले र माओवादीबिच एकता र सहकार्यको शृङ्खला
२०६२ सालमा तत्कालीन विद्रोही माओवादी र संसदवादी सात दलबिच १२ बुँदे सहमति भएपछि २०६२÷६३ सालको जनआन्दोलन सफल भएको थियो । ०६४ को पहिलो संविधान सभा निर्वाचनमा माओवादी पहिलो दलको रूपमा स्थापित भएपछि एमाले र माओवादीबिच एकताको पहल भए पनि सफल हुन सकेन । तथापि प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहभागी भएको थियो । ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा माओवादी कमजोर भएपछि राष्ट्रिय राजनीतिमा एमाले फेरि हावी भयो । त्यसपछि एकता प्रक्रिया समाप्त भयो । ०७२ सालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि एमाले र माओवादीबिच दोस्रो पटक सत्ता सहकार्य भयो । माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बन्न सफल भए पनि सहकार्य लामो समय टिकेन । ०७४ सालमा पार्टी एकता गर्ने शर्तसहित एमाले र माओवादीबिच चुनावी तालमेल भयो । निर्वाचनपछि ओली शक्तिशाली प्रधानमन्त्री भए ।
पूर्वसहमति अनुसार ०७५ सालमा पार्टी एकता भयो तर नेतृत्वबिच सत्ता स्वार्थ र शक्ति सङ्घर्षका कारण ओली सरकार ढल्यो । नेकपासमेत विघटन भयो । ०७९ को निर्वाचनपछि फेरि एमाले र माओवादीबिच दुई पटक सत्ता सहकार्य भयो । यसबिचमा एकले अर्काको अस्तित्व स्वीकार्नेभन्दा पनि दबाबमा राख्ने र गलाउने नीति हावी हुँदा सत्ता समीकरण भत्किएको वाम विश्लेषक श्याम श्रेष्ठको भनाइ छ ।
‘वामपन्थीहरू आपसमा लड्दा फाइदा कसलाई हुन्छ भन्ने कुरा नेताहरूलाई राम्रोसँग थाहा छ । तर दम्भ, अहंकार, एक अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा सहकार्य र एकता हुन सकेको छैन’, श्रेष्ठले भने ।
२०७९ को निर्वाचनमा कसको कति मत ?
०७९ को निर्वाचनमा प्रतिनिधि सभातर्फ वामपन्थी दलहरूले पाएको मतमध्ये एमालेले २८ लाख ४५ हजार ६४१ पाएको छ । त्यतिबेला कांग्रेस–माओवादी गठबन्धनबिच एक्लै प्रतिस्पर्धा गरेको एमालेले सबैभन्दा बढी मत पाएको थियो ।
यही मतबाट हौसिएको एमाले आगामी निर्वाचनमा एल्लै बहुमत ल्याउने मिसनमा छ । आगामी निर्वाचनमा माओवादीलाई एक्ल्याउने रणनीतिका साथ कांग्रेस र एमालेले सात बुँदे सहमति गरेको देखिन्छ । कांग्रेस र एमालेबिचको सत्ता सहकार्यले सबैभन्दा अप्ठ्यारो मोडमा माओवादी र एकीकृत समाजवादी छन् ।
अघिल्लो पटक कांग्रेससँग तालमेल गर्दा माओवादीले प्रत्यक्षतर्फ जम्मा १८ सिट जितेको थियो भने एकीकृत समाजवादीले १० सिट जित्यो । माओवादी ११ लाख ७५ हजार ६८४ मत ल्याएर तेस्रो दल हुँदा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत ल्यायो ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार अन्य साना वामपन्थी दलहरूमा नेमकिपाले ७५ हजार १६८, राष्ट्रिय जनमोर्चाले ४६ हजार ४०५, मालेले ३० हजार ५९९ र नेकपाले ८ हजार १३ मत पाएको छ । यस्तै नेकपा पुष्पलालले ७ हजार ४०२, जनसमाजवादी पार्टी नेपालले ५ हजार ९२५, नेकपा समाजवादी (अन्य दुई दलसमेत) ५ हजार ८३९ मत पाएको छ । नेकपा माओवादी समाजवादीले ३ हजार ७०२, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ३ हजार ३५४, नेकपा परिवर्तनले २ हजार २२० र नेपाल समाजवादी पार्टीले २ हजार ९६३ मत पाएको छ ।