काठमाडौं । संघीय निजामती सेवा ऐन जारी गर्न भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले सुरु गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ ।
सिंहदरबार दक्षिण गेटमा धर्ना दिइरहेकामध्ये संगठनका अध्यक्ष पशुपति पोखरेल र अन्य केही पक्राउ परेका छन् ।
संघीयता लागु भएको लामो समय बितिसक्दा पनि संघीय निजामती सेवा ऐन जारी नभएको भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।
संघीय निजामती सेवा ऐन छिटो जारी गर्न माग गर्दा प्रहरीको दमन भएको भन्दै संगठनले आपत्ती जनाएको छ । संगठनले प्रहरी नियन्त्रणमा रहेका अध्यक्षसहित राष्ट्र सेवक कर्मचारीहरूलाई छिटो रिहा गर्न माग गरेको छ ।
संगठनले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर्नु पर्ने, टिप्पणी पेस गर्नेलाई कारबाही र निर्णय गर्नेलाई उन्मुक्ति दिन नहुने, उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, आधिकारिक ट्रेड युनियनको व्यवस्था गरी निर्वाचन गर्नुपर्ने, सचिव र सहसचिवको सरुवा एक वर्षभन्दा कम समयमा गर्न नहुने, निजामती अस्पताल सुधार गर्नु पर्ने, करार, ज्यालादारी कर्मचारीको व्यवस्थापन गर्नुपर्ने लगायतको १० बुँदे माग राखेर आन्दोलन गरिरहेको छ ।
संघीय संसद् सुरु भएको साढे सात महिना हुँदा पनि सरकारले संघीय निजामती विधेयक संसद्मा ल्याउन सकेको छैन ।
संसद्को अघिल्लो कार्यकालमा सरकारले ल्याएको विधेयक राज्य व्यवस्था समितिले टुङ्ग्याएर सदनमा पेस गरेको थियो । संसद्मा रहेको विधेयक सरकारले फिर्ता लगेपछि ल्याउन नसकेको हो ।
हेर्नूस् थप तस्बिरहरूः