काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरूप समयानुकूल हुनुपर्ने बताएका छन् ।
पार्टी संसदीय दलले बिहीबार आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा उनले संविधान संशोधनमार्फत प्रदेश सभाको संरचनामा व्यापक परिवर्तन र स्थानीय तहको संख्या घटाउन उपयुक्त हुने सुझाव दिए ।
‘बोझिलो र खर्चिलो मानिएको प्रादेशिक संरचनालाई व्यवस्थित गर्ने कोणबाट छेडिएको बहसलाई एउटा निष्कर्षमा पुर्याउनैपर्छ,’ उनले भने, ‘कानूनी र आर्थिक पाटोबाट बलियो, स्वच्छ र सुदृढ संघीय सरकार, समन्वय र प्रभावकारी प्रदेश तथा जनतालाई चुस्त सेवा प्रवाह गर्ने छरितो स्थानीय तह हुनुपर्छ ।’
संविधान ऐन, नियम, कानून कसरी बनाउने भन्ने राजकीय शक्तिको संग्रह र गतिशील दस्तावेज भएको उनले बताए । संविधान मन्थनबाट संविधान, ऐन, नियम, कानून तथा राज्यका महत्त्वपूर्ण नीति र पद्धतिका विषयमा पार्टीपंक्ति दीक्षित हुने विश्वास उनले व्यक्त गरे ।
रास्वपाले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र मौद्रिक नीति लगायत नागरिकसँग चासो जोडिएका विषयवस्तुमाथि विज्ञसँग मन्थन गर्दै आएको छ ।
संविधान मन्थन कार्यक्रम अन्तर्गत बिहीबार भएको ‘समावेशिताको सकसः संविधान र कार्यान्वयन’ शीर्षकको सत्रमा पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले नेपालको इतिहासमा लोकतन्त्रका लागि संघर्ष गर्नेका लागि संविधान दिवस महत्त्वपूर्ण दिन भएको बताए ।
संविधानले समावेशी, गणतन्त्र, धर्म निरपेक्षता र संघीयतालाई आत्मसात् गरेको बताउँदै उनले यसलाई समृद्ध तुल्याएर कसरी अघि लैजान सकिन्छ भन्नेमा राजनीतिक नेतृत्वको बहस केन्द्रित हुनुपर्नेमा जोड दिए ।