काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकमा आशा जगाउन उत्कृष्ट सेवा प्रवाह आवश्यक हुने बताएका छन् ।
संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति भवन शिलतनिवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भने, ‘हामी संकल्प गरौं कि हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् । नागरिकको हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुने छैन ।’
उनले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प चाहिने उल्लेख गर्दै भने, ‘लक्ष्य प्राप्त गर्न साधना चाहिन्छ, लक्ष्य प्राप्त गर्न अविचलित भई अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ । हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्त्वपूर्ण संकल्प गरौं, पहिलो संकल्प गरौं, हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहने छौं । जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछौं र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौं । अर्को संकल्प गरौं कि हामी सुशासनप्रति प्रतिबद्ध रहने छौं तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौं ।’
उनले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेस्रो संकल्प गर्न आग्रह गरे । उनले भने, ‘भ्रातृत्व, एकता र समभाव हाम्रो जीवन पद्धति हुनेछ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ ।’ जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिनेछैनौं भन्ने अर्को संकल्प गर्न उनले आग्रह गरे । ‘पाँचौं, संकल्प गरौं कि हामी नागरिकको हितका लागि समर्पित हुनेछौं,’ राष्ट्रपति पौडेलले भने ।
यी संकल्प गर्दै मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा हामीले ध्यान दिनपर्ने केही महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै उनले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताए ।
‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न हामीलाई प्रभावकारी सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जगाउन सकोस्, जसले नागरिकलाई यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित छ भनेर लोकतन्त्रप्रति भरोसा जगाउन सकोस्,’ राष्ट्रपति पौडेलले भने । उनले संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासन कायम गर्ने, विकास निर्माणलाई तीव्रता दिने र सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने अहिलेको महत्त्वपूर्ण समयमा यसको पूर्ण कार्यान्वयनमा सबैले ध्यान दिनु अहिलेको आवश्यकता रहेको बताए ।