काठमाडौं । खाद्यान्न आपूर्तिको सहज व्यवस्थापन, डेंगी र लम्पी स्किन रोग नियन्त्रण तथा प्रतिकार्यलाई उच्च प्राथमिकता दिन मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सचिवहरूलाई निर्देशन दिएका छन् । सरकारले लम्पी स्किन, डेंगी जस्ता संक्रामक रोग रोकथाम तथा नियन्त्रणमा ध्यान नदिएको गुनासो आइरहेपछि मुख्य सचिव अर्यालले विभिन्न मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका हुन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको केन्द्रीय अनुगमन तथा मुल्यांकन समितिको बैठकमा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापन, डेंगी र लम्पी स्किन रोग नियन्त्रण तथा प्रतिकार्य आदि विषयमा छलफल गरिएको थियो ।
संघीय सरकार, स्थानीय सरकार र निजी क्षेत्रसमेतको सहकार्यमा यथाशिघ्र सेवा दिन सक्ने गरी ३ दिनभित्र कार्ययोजना बनाई लम्पी स्किन रोगविरुद्धको खोपको व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतामा राख्न अर्यालले निर्देशन दिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसको कार्यान्वयन गर्ने/गराउने जानेको छ ।
साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोग फैलिन नदिन प्रदेश तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा व्यापकरुपमा जनचेतनामूलक सन्देश प्रवाह गर्नुपर्ने जनाएको छ ।
मुख्यसचिव अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सहयोग र सहजीकरणमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त बजार अनुगमनका लागि सूचना संकलन प्रविधिको प्रयोग, प्रभावकारी जनशक्ति परिचालन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बजारमा खाद्य उपलब्धताको सुनिश्चितता गर्न सरकारी र निजी क्षेत्रको सहभागितामा उपलब्ध गोदाम समेत प्रयोग गरी आवश्यक खाद्यान्न भण्डारणको व्यवस्थापन गर्ने सम्बन्धमा समेत निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टका अनुसार बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू सहित गृह मन्त्रालय, राष्ट्रिय योजना आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरुको उपस्थिति रहेका थिए ।