काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरणीय सन्तुलनबाट कायम गरेर गरिने आर्थिक वृद्धिदर दीगो हुने बताएका छन् ।
चैतन्य एकेडेमी नेपालद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रबार आयोजित ‘हरित अर्थतन्त्र प्राप्तिः नेपालमा ३ तहका सरकारबीच समन्वय’ विषयक २ दिने नीति–संवाद कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दीगो आर्थिक वृद्धिदरले मात्रै राष्ट्रलाई प्रतिफल दिनसक्ने बताए ।
‘वातावरणीय सन्तुलन कायम नगरी गरिने आर्थिक वृद्धि अन्ततः दीगो हुन सक्दैन र त्यसले राष्ट्रलाई राम्रो प्रतिफल दिन पनि सक्दैन, यसबाट भावि पुस्ताका निम्ति अकल्पनीय बोझ छाडेर जाने चुनौती सिर्जना हुन दिनु हुँदैन,’ मन्त्री पौडेलले भने ।
उनले वातावरणीय सन्तुलन सहितको आर्थिक वृद्धिदर बढाउनुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले भने, ‘हामी नवीकरणीय ऊर्जा, कार्बन उत्सर्जन न्यूनीकरण, फोहरको पुनः प्रयोग, वातावरण प्रदूषण र प्राकृतिक सम्पदाको सदुपयोगको विषयमा सन्तुलित दृटीकोणले जानुपर्छ, यसले मात्रै दीगो आर्थिक वृद्धि हुनेछ ।’
नेपालमा हरित अर्थतन्त्र पैरवीको चरणमा रहेकाले पैरवी पनि प्राकृतिक सन्तुलनमा आधारित भएर गर्न सरोकारवालालाई उनले आग्रह गरे ।
मन्त्री पौडेलले जे गर्दा आर्थिक समृद्धि हासिल, आर्थिक वृद्धि तथा सम्पन्नता प्राप्त हुन्छ, त्यही गर्ने नीति लिएको बताए । उनले भने, ‘सुक्खा याममा पहाड चिथोरेको जस्तो देखिन्छ, पूर्वाधार चाहिए पनि अध्यानबिना वातावरणमैत्री बनाउन नसक्दा वातावरण बिग्रिएको छ, प्रतिकूल स्वरूप विकासमा खर्च बढेको छ ।’
मन्त्री पौडेलले वातावरणीय प्रभाव मूल्याङ्कन नगर्दा बाढीपहिरोको जोखिम बढेको बताउनुभयो । “बिना अध्ययनका आयोजनाले प्रकोप बढिरहेका छन्, अब यस्तो पद्दतिबाट मुक्त हुनुपर्दछ”, उहाँले थप्नुभयो । उहाँले क्रमशः ऊर्जा उत्पादनलाई निरन्तर दिँदै ‘क्लिन इजर्नी’लाई घर र यातायातमा प्रयोग गर्नेगरी पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो