ढोरपाटन । बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ । पूर्व-पश्चिम जोड्ने मध्य पहाडी लोक मार्ग, चीन-भारत जोड्ने काली गण्डकी करिडोर र तराई-पहाड जोड्ने सालझण्डी-ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् ।
बरेङ, तारा खोला र तमानखोलाबाहेक सात गाउँपालिकामा यी मुख्य सडक पुगेका छन् । तर मध्य पहाडी लोक मार्गबाहेक अन्य सडकमा गाडी कम गुड्छन् । अर्बौँ लगानीमा निर्माण भएका काली गण्डकी करिडोर र सालझण्डी-ढोरपाटन सडक अहिलेसम्म पनि पूर्णरूपमा स्तरोन्नति हुन सकेका छैनन् ।
स्तरोन्नति नभएका सडकमा जोखिम मोलेर कसैले पनि यात्रा गर्दैन । मध्य पहाडी लोक मार्गले बागलुङको पूर्वी सिमाना मालढुङ्गाबाट पश्चिम सिमाना पातीहाल्नेसम्म जोडिएको छ । यस सडकमा बाह्रै महिना देशको राजधानी काठमाडौँलगायतका ठुला सहरबाट यातायात सञ्चालन हुन्छ ।
यस सडकले जिल्लाको बागलुङ नगरपालिका, ढोरपाटन, गलकोट नपा, काठे खोला, बडिगाड र निसीखोला गाउँपालिका गरी छ वटा पालिका जोडिएको छ । उत्तर-दक्षिण जोड्ने काली गण्डकी कोरिडोरले जैमिनी नपा र बागलुङ नपा जोडिएको छ । यो सडकमा स्थानीय गाडी मात्रै चल्छन् । ठुला सहरबाट गाडी आउँदैनन् ।
सालझण्डी–ढोरपाटन सडकले निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडिन्छ । यस सडकमा पनि ठुला सहरबाट गाडी सञ्चालन भएका छैनन् । मध्य पहाडी लोक मार्गको अब करिब १२-१४ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ भने सालझण्डी–ढोरपाटन स्तरोन्नतिका लागि सरकारले रु ६२ करोड विनियोजन गरे पनि अहिलेसम्म निर्माण कम्पनीले काम गरेको छैन ।
नेपालको एक मात्रै सिकार आरक्षण ढोरपाटन जोड्ने सडकको दुरावस्था छ । काली गण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत करिब ३२ किलोमिटर पर्छ । अहिले यस खण्डमा काम भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।
उनले राष्ट्रको गौरवको आयोजनाका काम तीव्र गतिमा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको बताए । विसं २०७३ मा खुलेको कोरिडोरको ट्र्याक अहिले बल्ल स्तरोन्नति हुन थालेको छ ।
समयमा योजनाको काम नसकिँदा व्यापारिक केन्द्रबाट चल्नुपर्ने गाडी चल्न नसकेको उनको भनाइ छ । कालीगण्डाकी करिडोर कालोपत्र भएर निरन्तर सञ्चालनमा आए बागलुङबाट बुटवल पुग्न झन्डै दुई घण्टाको दूरी छोटिने उनले बताए ।
‘करिडोर दुई–तीन देश मात्रै जोड्ने सडक नभएर व्यापारिक सडक पनि हो, यो सडक सञ्चालनमा आए भारतबाट सिधै बागलुङमा सामान ढुवानी गर्न सकिन्थ्यो, बुटवल, भैरहवालगायत तराईका व्यापारिक केन्द्रमा पुग्न पोखरा पुग्नुपर्ने थिएन’, उपप्रमुख शर्माले भने, ‘करिडोर हुँदै बुटवल पुग्न पोखराबाट भन्दा यताबाट झन्डै दुई घण्टा छोटो हुन्छ, अहिले काम भइरहेको छ, निरन्तर यातायात सञ्चालन हुन थाल्यो भने यो सडकले बागलुङको मुहार फेर्ने छ ।’
मध्य पहाडी लोक मार्ग बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये अधिकांश क्षेत्रमा कालोपत्र भए पनि काठे खोला खण्डमा काम हुन सकेको छैन ।
ट्र्याक खुलेको साढे दुई दशक बढी हुँदा पनि सडक स्तरोन्नति हुन नसक्दा लोक मार्गमा यात्रा गर्ने हजारौँ यात्रुले सास्ती खेप्नुपरेको काठे खोलाका अध्यक्ष राजु थापाले बताए ।यो सडकमा हरेक दिन दर्जनौँ साना–ठुला गाडी गुड्ने गरेको भन्दै सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना जोखिम पनि उत्तिकै बढेको उनको भनाइ थियो ।
सालझण्डी–ढोरपाटन सडक बागलुङ खण्डमा गङ्गरेबाट ढोरपाटनसम्म ६१ किलोमिटर पर्छ । गुल्मी खण्डमा कालोपत्र गर्ने ठेक्का लगाइएको छ भने अर्घाखाँची खण्डमा १३ किलोतिर कालोपत्र भएको छ ।
यस सडकलाई यस वर्ष ४० करोड विनियोजन भएको थियो । ढोरपाटन नपाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले घरै अगाडि सडक भए पनि स्थानीयले सहजरूपमा प्रयोग गर्न नपाएको बताए । ढोरपाटन प्राकृतिक रूपले सम्पन्न भए पनि सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको उनले बताए ।
उनले निर्माण कम्पनी र आयोजना कार्यालयलाई काम तीव्र गतिमा अगाडि बढाउन आग्रह गरे पनि सुनुवाइ नभएको बताए । केन्द्रीय आयोजना हुँदा नगरपालिकाले काम गर्न नसकेको भन्दै सडकलाई सहज नबनाएसम्म नागरिकले दुःख पाइराख्ने उनको भनाइ छ । हिउँदमा धुलो र बर्खामा हिलोले आजित हुनुका साथै साँघुरो सडक हुँदा यात्रा जोखिमपूर्ण हुने गरेको उनले बताए ।
‘दिनदिनै ढोरपाटनमा पर्यटक आउने गर्छन्, सडकको अवस्था देखेर निराश भएर फर्किन्छन्, निर्माण कम्पनीले समयमै काम नगर्दा यसको असर स्थानीय र पर्यटकलाई परेको छ’, उनले भने, ‘हामीहरू भन्दाभन्दा हैरान भयौँ, जनताले नगरपालिकाले सडक बनाएन भन्छन्, यो सडक बनाउने अधिकार हामीलाई छैन, पर्यटकीय गन्तव्यका रूपमा उत्कृष्ट रहेको ढोरपाटन सडकका कारण पछाडि परेको छ ।’