काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले नेपालसँग भैरहवा र पोखराका लागि पनि सिधा उडानको अनुमति मागेको छ ।
भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको ‘भुटान सिभिल एभिएसन अथोरिटी’ ले नेपालका दुई सहरमा सिधा उडान अनुमति दिन शुक्रवार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पत्र पठाएको हो । नेपालका नयाँ सहरमा सिधा उडान हुँदा ठुलो संख्यामा बौद्ध मार्गी पर्यटक लाभान्वित हुन सक्ने भुटानको आकलन छ ।
दुई देशबीच एक दशकअघि वार्षिक २ लाख १८ हजार सिटका लागि हवाई सम्झौता भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल भुटानका दुई अन्तर्राष्ट्रियसहित ३० वटा वायुसेवाले उडान भर्दै आएका छन् ।
सञ्चालनमा आएको ७ महिना बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कुनै पनि विदेशी वायुसेवाले नियमित उडानको अनुमति लिइसकेका छैनन् ।
कम्तीमा २२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा निर्माण गरिएको उक्त विमानस्थलमा भुटानी वायुसेवालाई उडानका लागि रुटको समस्या हुने छैन । पूर्वी इलामको आकाश हुँदै गल्फ-३४८ रुटबाट जहाजले भुटान ओहोदोहार गर्न सक्छन् ।
यो रुट काठमाडौंको आकाश हुँदै पोखरासँग जोडिएको छ । त्यसै गरी भैरहवा-भुटान (पारो) उडानका लागि पनि हवाई रुटको झमेला छैन । हाल ड्र्युक एअरले एटीआर र एयरबस ए-३१९ बाट सातामा चार र भुटान एअरले एयरबस ए–३१९ बाट सातामा दुइटा पारो-काठमाडौं उडान भर्दै आइरहेको छ ।
ड्र्युकले नेपालसहित एसियाका १० वटा गन्तव्यलाई राजधानी थिम्पुसँग जोडेको छ भने भुटान एअरले काठमाडौंसहित ५ वटा एसियाली सहरमा उडान भर्दै आइरहेको छ ।
एक वर्षअघि सञ्चालनमा आएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयर र नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आइरहेका छन् ।