काठमाडौं । सरकारका सचिवहरूको बैठकले आगामी १ महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने लगायत २४ निर्णय गरेको छ ।
सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सबै मन्त्रालयका सचिवहरूको बैठकले सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
‘गृह मन्त्रालयले शहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा १ महिनाभित्र सिंहदरबार प्रवेश गर्दा ई–पास प्रणाली कार्यान्वयनमा ल्याउने,’ निर्णयमा उल्लेख छ ।
बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धतालाई प्रत्येक मन्त्रालयले आ–आफ्नो कार्यक्रममा उच्च प्राथमिकताका साथ समावेश गरी कार्यान्वयनलाई शीघ्रता दिने निर्णय समेत गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न क्युआर कोड सहितको एप विकास गरी १५ दिनभित्र लागू गर्ने निर्णय बैठकले गरेको छ ।
निर्णयमा भनिएको छ, ‘यातायात, मालपोत नापी, वैदेशिक रोजगार, राहदानी, अध्यागमन, जिल्ला प्रशासन कार्यालय जस्ता निकायहरूमा प्रविधिको उपयोग गरी सेवा प्रवाह गर्ने र बिचौलियाको उपस्थिति नहुने विषय सुनिश्चित गर्ने ।’