काठमाडौं । डेंगी रोगका बिरामी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको हो ।
मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा साझेदार अधिकारीहरूसँग बसेको बैठकले व्यक्तिको घरमा भन्दा सार्वजनिक निकायका भवन कम्पाउण्ड बढी जोखिममा रहेको बताउँदै तालिकाबद्ध सफाइको संस्कृति चलाउनु पर्ने खाँचो देखाइएका हुन् । बैठकमा कम्तीमा ४ हप्ता डेंगी नियन्त्रणका कार्यक्रममा थप सक्रिय हुनु पर्ने, डेंगीबाट बच्न हरेक व्यक्ति सचेत र सावधान हुनुपर्ने निष्कर्ष निकालियो । बैठकमा डेंगी संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय राखी नरहन सचेतनामूलक कार्यक्रम सञ्चालन हुने बताए ।
सार्वजनिक निकायले कार्यक्रमको नेतृत्व गर्ने र सर्वसाधारणले यो कार्यक्रम आफ्नै सुरक्षाका लागि हो भनेर ग्रहण गर्ने वातावरण सिर्जना गर्नमा जोड दिँदै स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले भने ‘संक्रमण हुन्छ कि भनेर डर राख्नु र सावधानी अपनाउनु पर्छ, संक्रमण भइ हाल्यो भने चाहिँ आत्तिनु वा डराउनु हुँदैन । आत्मविश्वासले रोगसँग लड्न सघाउ हुन्छ ।’
सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मीहरू, वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघ संस्था र क्लबका प्रतिनिधि, नगर प्रहरी, कर्मचारीलाई लार्भा नष्ट गर्ने अभियानमा सहभागी गराउने योजना बनाएको छ । बैठकमा स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. ले भने ‘प्रवर्द्धनात्मक कार्यक्रममार्फत तथ्य र सूचना प्रवाह हुनेछ ।’
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा, भेक्टर डिजिज शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार सीतापाइला, कालीमाटी, कोटेश्वरलगायत क्षेत्रमा डेंगीका बिरामी बढेका छन् । उनले भने ‘१० जना सक्रिय बिरामी भेटिएका ठाउँमा कम्तीमा १ सय जना निष्क्रिय बिरामी हुन सक्छन् । यस कारण महामारी नियन्त्रणका प्रभावकारी चाहिएको हो ।’
बर्षायाममा साउन, भाद्र, असोज र कार्त्तिक महिनासम्म यस रोगको संक्रमण दर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा महानगरले, डेंगी रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिन्छ ।