काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कानूनको सम्मान गर्दै निष्पक्ष अनुसन्धान प्रक्रियामा सहयोग गर्न अपिल गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रम, शान्ति सुरक्षा एवं मानव अधिकारको संरक्षणमा पर्नसक्ने प्रतिकूल प्रभावप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कानूनको कार्यान्वयनमा पूर्वाग्रह भएको, दुराशय राखी पक्राउ गरिएको, पक्राउ गरिएका व्यक्तिप्रति मानवोचित व्यवहार नभएको र स्वास्थ्य उपचारमा पूर्वाग्रही भएकोजस्ता सूचनाहरू आयोगमा प्राप्त भएका छन् । प्राप्त सबै सूचनाको आयोगले अनुगमन गरिरहेको छ, पक्राउ र आरोपको पक्षविपक्षमा भएका गतिविधिबाट नागरिकको मानव अधिकार संरक्षण र शान्तिसुरक्षामा प्रभाव परिरहेको देखिएको छ ।’
फौजदारी कसूरमा छानबिन तथा अनुसन्धान गर्ने सन्दर्भमा राज्यको तर्फबाट हुनसक्ने पूर्वाग्रहपूर्ण व्यवहार र आरोपीको तर्फबाट प्रचलित कानूनी विधि र प्रक्रियाविपरीत व्यक्त हुने घृणायुक्त अभिव्यक्तिबाट यस प्रकारको अवस्था नआओस् भन्नेतर्फ सबै सचेत रहन आवश्यक भएको आयोगले जनाएको छ ।
फौजदारी मुद्दामा निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुनसकेमा मात्र देशमा मानव अधिकार र कानूनी शासनको स्थापना हुन्छ भन्ने कुरामा विवाद नरहेको आयोगले जनाएको छ ।
आपराधिक घटनाको अनुसन्धानलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि नगर्न/नगराउन, नियन्त्रणमा लिएका अभियुक्तको स्वास्थ्योपचारमा विना भेदभाव चिकित्सकीय जिम्मेवारी र कर्तव्य निर्वाह गर्न, आपराधिक घटनाको सुक्ष्म र वैज्ञानिक अनुसन्धानमा जोड दिन सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ ।