काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा ‘यूएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुने क्रममा हाल न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. राणा र उपमहासचिव सीमाबीच बिहीबार भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री डा. राणाले महिला सशक्तीकरणका क्षेत्रमा यूएन वुमनले विश्वमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेकी थिइन् ।
मन्त्री डा. राणाले नेपाल पनि लैंगिक समानताका क्षेत्रमा यूएन वुमनसँग मिलेर गर्दै आएको कार्यको स्मरण गर्दै आगामी दिनमा थप प्रवर्द्धन गर्न सदैव तत्पर रहेको बताएकी थिइन् ।
त्यस अवसरमा मन्त्री डा. राणाले नेपालले महिला सशक्तीकरण, लैंगिक समानता, शिक्षा, रोजगारी, उद्यमशीलता तथा अन्य आवश्यकताका क्षेत्रमा महिलाहरूलाई समान अधिकार प्रदान गरिरहेको जानकारी कार्यकारी निर्देशक बहुसलाई गराएकी थिइन् ।
भेटका क्रममा लैंगिक समानता र महिला अधिकारका लागि नेपालमा भएको लामो संघर्ष तथा आफ्नो सक्रिय सहभागिताबारे पनि मन्त्री डा. राणाले उनलाई जानकारी गराएकी थिइन् ।
आगामी दिनमा पनि लैंगिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा यूएन वुमनले नेपाललाई सहयोगका साथै यस विषयमा नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको भेटमा मन्त्री डा. राणाले बताएकी थिइन् ।