काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी अध्ययन संकायको डिन नियुक्ति प्रक्रिया अघि बढेसँगै विवाद खडा भएको छ। त्रिविले राजनीतिक दबाबलाई निरुत्साहित गर्ने लक्ष्यसहित रिक्त हुने कार्यक्रम संयोजकदेखि अनुसन्धान केन्द्र निर्देशकसम्मका पदपूर्तिका लागि मापदण्डका आधारमा प्रक्रिया अगाडि बढाएपछि छनोट समितिले आफूखुसी गरेको भन्दै विरोध भइरहेको छ।
त्रिविले मानविकी संकायको डिन नियुक्ति प्रक्रिया मापदण्डकै आधारमा अगाडि बढाए पनि योग्य उम्मेदवार छनोटमा समितिले आफूखुसी गरेको भन्दै विवाद उत्पन्न भएको हो।
विद्यावारिधि उपाधि हासिल गरेको प्रमाणपत्र पेस गर्दासमेत आफ्नो विद्यावारिधिको नम्बर नै नजोडी सर्टलिस्ट निकालिएपछि डिनका उम्मेदवार प्राध्यापक कृष्णराज आचार्यले उपकुलपति कार्यालयमा छनोट प्रक्रियाविरुद्ध निवेदन दर्ता गराएका छन्।
आचार्यले आफूले नामको पछाडि पिएचडी लेख्ने गरेको र त्रिविले दिएको दीर्घसेवा पदकसम्बन्धी प्रमाणपत्रमा भने नामको अगाडि डा. लेखिएको बताए। उनले दीर्घसेवा पदक पाएको उक्त प्रमाणपत्र पेस गर्दा पनि विद्यावारिधिको ८ अंक मूल्यांकन समितिले नजोडी आफूलाई प्रतिस्पर्धाबाट बाहिर निकालेको गुनासो गरेका छन्।
‘मैले संस्कृत विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको छु। तर मेरो विद्यावारिधिको ८ अंक गणना नगरी पाँचजनाको नाम सर्टलिस्टमा प्रकाशित गरिएको रहेछ,’ आचार्यले नागरिकसँग भने, ‘छनोट समितिले मेरो विद्यावारिधिको अंक नजोडी त्रुटिपूर्ण ढंगले नतिजा प्रकाशन गरेकाले त्यसलाई सच्याउन उपकुलपतिसमक्ष निवेदन पेस गरेको छु। त्रिविले त्रुटि नसच्याए मैले कानुनी उपचार खोज्नेछु। कुनै कागजात नपुगेको भए समितिले माग्नुपथ्र्यो। विद्यावारिधि गरे पनि त्यसको अंक नदिएर मलाई रिङआउट गरी छनोट समितिले आफ्नालाई रोज्यो।’छनोटको आधार मापदण्ड बनाइए पनि दलनिकटकै व्यक्ति नियुक्ति गर्न चलखेल गरिएको हुन सक्ने उनले बताए।
हरेक पदमा नियुक्तिका लागि त्रिविले यसपटक मापदण्ड बनाएको छ। मापदण्डअनुसार जिम्मेवार निकायका पदाधिकारीहरू जवाफदेही र उत्तरदायी बन्न सके त्रिविले कोल्टो फेर्न सक्ने प्राध्यापकहरूले विश्वास लिएकै बखत मानविकी संकायको डिन नियुक्तिमा चलखेल सुरु भएपछि त्यस्तो विश्वास गर्न मुस्किल बनेको प्राध्यापक केशव पौडेलले बताए। मानविकी संकायमा डिन नियुक्ति प्रक्रियामा भएको त्रुटि सच्याउन माग राखेर विद्यार्थीले बुधबार शिक्षाध्यक्षको कार्यालयमा घेराउ गरेका थिए।त्रिविले सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ तय गरेको छ। यही विनियममा आधारित भएर त्रिविले अहिले आठ डिन, एउटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, योजना निर्देशनालयका निर्देशक, १७ वटा क्याम्पस प्रमुख र ६ सहपरीक्षा नियन्त्रक गरी ३१ पदपूर्तिका लागि विज्ञापन गरेको थियो। जसका लागि दुई सय ७१ आवेदन परेको शिक्षाध्यक्षको कार्यालयका निजी सहायक राजु श्रेष्ठले बताए।