काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले यही साउन ७ गते रानीबारीस्थित सामाखुसीमा भएको दुर्घटनामा परी बेपत्ता भएका विधान आलेमगरको खोजी गर्न र त्यस्ता घटना नदोहोरिने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।
वर्षात्का समयमा यस्ता घटना अन्यत्र नदोहोरिने गरी काम गर्न समितिले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानीलगायत सरकारी निकायलाई निर्देशन दिएको हो ।
समितिले भौगर्भिक अध्ययन नगरी नदी किनारमा बस्ती नबसाल्न,काठमाडौं उपत्यकाका खोलानालाको सफाइ गर्न पनि सरोकार भएका निकायलाई निर्देशन दिएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सामाखुसीमा भएको जस्ता घटना दोहोरिन नदिन विभिन्न निकाय संलग्न हुनुपर्ने भएकाले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । चक्रपथको ढल सामाखुसीमै मिसिने भएकाले व्यवस्थापनका लागि मन्त्रालय र त्यस अन्तर्गतका निकायले काम गर्ने उनको भनाइ थियो । वर्षात्मा मानिसको जीउ, धन, सम्पत्तिको सुरक्षाका लागि काम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री ज्वालाले स्पष्ट पारे ।
समितिका ज्येष्ठ सदस्य लालवीर चौधरीले पूर्वाधार निर्माण गर्दा आइपर्ने यस्ता समस्या समाधान गरेर अघि बढ्न निर्देशन दिएका थिए । सांसद राजेन्द्र बजगाईँले सडक विस्तार गर्दा अपांगतामैत्री नबनाउँदा र काम सुरु गरेर अलपत्र छोड्दा सामाखुसीमा घटना घटेको बताए ।
सांसद प्रदीप पौडेलले चक्रपथबाट निस्कने ढललाई विष्णुमतीमा जाने गरी व्यवस्थापन गर्न सडक विभागलगायत सरोकार भएका निकायसँग माग गरे । सांसद ठाकुर गैरेले सामाखुसीमा भएजस्ता घटना दोहोरिन नदिने गरी सरोकारवाला सबैको समन्वय आवश्यक रहेको बताए ।
बैठकमा सांसदहरु बिना लामा, माधव सापकोटा, ऐनबहादुर शाही, प्रेम महर्जन, दीपकबहादुर सिंह, सन्तोष परियार, निशा डाँगीलगायत धारणा राखेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले काठमाडौं उपत्यकाको प्राकृतिक ढल व्यवस्थापन बिग्रिएको र आधुनिक ढल व्यवस्थापनमा धेरै निकाय संलग्न हुने भएकाले पनि समस्या भएको बताए । काठमाडौंका एक चौथाइ सडकमात्र विभागले हेर्ने भएकाले पनि कहाँ के भइरहेको छ भन्ने कुराको जानकारी मन्त्रालयबाट मात्र पाउन नसकिने उनको भनाइ छ ।