काठमाडौं । मंगलबार कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । आज काठमाडौंबाट विराटनगर पुग्नासाथ उनले उपसभामुख सृजना दनुवारसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएपछि नयाँ सरकार गठनलागि संघर्ष भइरहेको छ । सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री थापा पदमुक्त भएका हुन् ।
उद्धब थापाद्वारा पुन: दावी पेश
सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धब थापाले पुनः मुख्यमन्त्रीको लागि दावी पेश गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्री दावी गरेका हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दावी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद छन् । गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आजै पदबाट राजीनमा दिएका थिए ।
तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते उद्धब थापाको नेतृत्वमा गठन भएको सरकारलाई साउन ११ गते संवैधानिक विपरित रहेको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । थापा नेतृत्वको सरकार २२ दिनमै बर्खास्त भएकोमा पुनः थापालाई नै मुख्यमन्त्रीको रुपमा गठबन्धनले अगाडि सारेको हो । झापा घर भएका थापा प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुन् ।
कोशी प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् । सरकार गठनको लागि सभामुखले राजीनमा दिएपछि गठबन्धनले सहज बहुमत जुटाएको भएपनि विश्वासको मत लिन भने सहज देखिएको छैन । सरकार गठन भएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आज बेलुका ५ः०० बजेसम्मको समय दिएका थिए ।