काठमाडौं । नेकपा मालेले बर्सेनि हुने बाढी, पहिरो, डुबानको समस्याको निदान समयमा नै खोज्न सरकारसँग माग गरेको छ । पार्टीका महासचिव सीपी मैनालीले अविलम्ब समुचित क्षतिपूर्ति उपलब्ध गराउन, बेपत्ताको प्रभावकारी खोजतलास गर्न, घाइतेको सम्पूर्ण उपचार व्यवस्था गर्न, विस्थापित जनताको गाँस–बासको प्रबन्ध गर्न र बाढी पहिरोबाट क्षतिग्रस्त बाटोघाटो, पुल–पुलेसाको मर्मत तथा पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन समेत सरकारसँग माग गरेका हुन् ।
मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ - ‘पटक–पटक सरकार बन्छन्, ढल्छन् । सरकार ढाल्न र बनाउन अभ्यस्त संसद्वादी दलहरू बर्सेनि बाढी, पहिरो, डुबानको समस्या आइपर्छ भन्ने किन हेक्का राख्दैनन् ? होइन भने किन समस्याको सही व्यवस्थापन र समाधानको नीति बनाउन सकिँदैन ? यस्ता प्राकृतिक विपत्तिहरू वर्षायाममा मात्र नभई वातावरणीय समस्याका कारण बढ्दै गएको बेमौसमी वर्षाका कारण आउने बाढी, पहिरो र डुबानले देशमा बर्सेनि जन–धनको ठुलो क्षति हुने र हजारौँको सङ्ख्यामा नागरिकहरू प्रभावित बन्दै जाने समस्याको निदान समयमै खोज्न सरकारको ध्यान जाओस् भनी नेकपा (माले) जोडदार माग गर्दछ ।सरकारको विपद् व्यवस्थापन एवम् उद्धार संयन्त्रको निरीह भूमिकाका कारण बाढी, पहिरो र डुबान प्रभावितहरू धेरैले ज्यान गुमाउन र बेपत्ता हुने स्थिति देखापरेको पार्टीको ठहर छ । ‘राज्य भनौँ वा सरकारलाई हरेक वर्ष वर्षायाममा हुने अधिक वर्षा र अरू समयमा पनि हुने बेमौसमी वर्षाबारे जानकारी भएकै विषय हो । सहरी क्षेत्रमा बग्ने विभिन्न स–साना खोला, खोल्सीहरूको क्षेत्रहरूको उचित व्यवस्थापनको सही नीति र कानुन सरकारले बनाउन र कार्यान्वयन गर्न नसक्दा उपत्यका लगायतका ठाउँहरूमा बाढी, पहिरो र डुबानका कारण नागरिकहरू प्रभावित र प्रताडित बनेका छन् । त्यसो त राज्य शक्तिको सम्पूर्ण श्रोत–साधन केन्द्रित राजधानी उपत्यकाभित्रै बाढीका कारण बाढी, पहिरो र डुबानको समस्या आउन नदिने उपाय र सावधानी अपनाउन जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ ।
पहाडी क्षेत्रहरूमा पनि यातायातको पहुँच पुर्याउन सडक विस्तार गर्ने काम जुन ढङ्गले भइरहेको छ, त्यसको भूगर्भीय अवस्थाको अध्ययन बिना गर्दा त्यहाँ बढी समस्या देखापरेको पार्टीको भनाई छ । सडक सञ्जाल निर्माणको नाममा जथाभाबी डाँडाहरूमा डोजर चलाउन नरोके यो क्रम बर्सेनि बढ्ने विज्ञप्तिमा भनिएको छ ।