काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भई सोमबार स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओली स्वदेश फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले स्वागत गरेका छन् ।
स्वागतमा मन्त्रीगण, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुख लगायत थिए ।
प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको संयुक्त राष्ट्रसंघ महासभाको ७९औं अधिवेशनमा भाग लिन असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका थिए ।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका छन् ।
महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीसँगै भ्रमणमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत सहभागी थिए ।