काठमाडौं । अविरल वर्षाका कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म २०५ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १२५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २०५ जनाको मृत्यु भएको छ ।
बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
काठमाडौं उपत्यकामा २ हजार १५५ जना, कोशी प्रदेशमा २९० जना, मधेश प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७४५ जना र गण्डकी प्रदेशमा ९९७ जना गरी जम्मा ४ हजार २२२ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन्, बेपत्ताको खोजी कार्य जारी छ ।
बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको जनाइएको छ ।