काठमाडौं । ३२ ठाउँमा घरजग्गा भएको भनिएका वन निर्देशकलाई सफाइ दिइएको छ ।
विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दाका प्रतिवादी हेमराज विष्टसमेत दुईजनालाई सफाइ दिएको हो ।
मंगलबार विशेषले उपसचिव स्तरका विष्ट र उनकी श्रीमती रुबी जिसीलाई समेत यस मुद्दामा अभियोग ठहर नहुने फैसला सुनाइएको
छ ।
राजधानीका साथै भक्तपुरसमेतका विभिन्न स्थानमा विष्ट दम्पत्तिका नाममा जग्गा भेटिएको थियो। श्रीमती रुबीका नाममा दाङ, कैलाली, कञ्चनपुरजस्ता विभिन्न ३२ स्थानमा घर–जग्गा खरिद गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो। १९ वटा बैंकमा खाता रहेकोसमेत खुलेको थियो ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बास्तोलाको इजलासबाट यस्तो फैसला भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा विष्ट दम्पत्तिविरुद्ध मुद्दा चलाएको थियो ।
उनी सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालयका निमित्त वन निर्देशक रहेका वेला उनीमाथि मुद्दा दायर भएको थियो ।
समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले विष्टमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो।
विष्ट वैशाख २०५५ देखि सरकारी सेवामा थिए । सार्वजनिक सेवामा प्रवेश गरेको २२ वर्षमा उनको वैध आय १७ करोड ३७ लाख रुपैयाँ हुनुपर्नेमा २४ करोड २४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति, लगानी र व्यय गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो। जसपछि उनीमाथि मुद्दा चलाइएको हो । मुद्दा दायर भएको डेढ वर्षमै मुद्दा फैसला गर्दै विशेषले सफाइ दिएको छ ।