काठमाडौं । चालु आर्थिक वर्षमा प्रथम त्रैमासबाटै सरकारले आन्तरिक ऋण परिचालन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने जनाएका थिए ।
सोहि अनुरुप सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको क्यालेन्डर अनुसार आन्तरिक ऋण बोलकबोल तालिका सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षमा परिचालन गर्ने आन्तरिक ऋण मध्ये १ खर्ब १० अर्ब रुपैयाँ दोस्रो त्रैमास अगाडि पुस मसान्त भित्र सरकारले बालकबोल गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले २ खर्ब ४० अर्ब आन्तरिक ऋणमध्ये ५५ अर्ब ट्रेजरी बिल मार्फत परिचालन हुने बताएको छ । साथै १ खर्ब ७९ अर्ब रुपैयाँ आन्तरिक ऋण विकास ऋणपत्रको बोलकबोल मार्फत, २ अर्ब ५० करोड नागरिक बचतपत्र मार्फत र ५० करोड वैदेशिक रोजगार बचतपत्र मार्फत बोलकबोल हुने जनाइएको छ ।
राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको तालिकामा त्सयसमध्ये पुस मसान्तभित्र ट्रेजरी बिल बोलकबोल मार्फत १५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुँदा विकास ऋणपत्र मार्फत ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने उल्लेख छ ।
सरकारले साउन २२ मा ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत २ अर्ब आन्तरिक ऋण परिचालन गर्नेछ ।
राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको बोलकबोल तालिकामा असोज २ मा ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत नै ३ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुनेछ । ५ मंसिरमा ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ३ अर्ब र २६ मंसिरमा १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ४ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने उल्लेख छ । पुस ९ मा १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत थप ३ अर्ब आन्तरिक ऋण परिचालन हुने राष्ट्र बैंकले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षको साउनमै २ वटा विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । साउन १८ मा ६ वर्षको लागि १० अर्बको विकास ऋणपत्र बोलकबोल हुनेछ । २८ साउनमा पनि थप १० अर्बको विकास ऋणपत्र ८ वर्षको लागि बोलकबोल हुने राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकका अनुसार भदौ १० मा ६ वर्षको लागि १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दा भदौ २४ मा थप १० अर्बको विकास ऋणपत्र ६ वर्षका लागि नै बोलकबोल हुनेछ । साथै असोज १४ मा ८ वर्षको लागि १० अर्बको र १६ कात्तिकमा ८ वर्षको लागि नै १० अर्बको अर्को विकास ऋणपत्र बोलकबोल हुने जनाइएको छ । मंसिर १२ मा ५ वर्षका लागि १० अर्बको र २६ मंसिरमा ८ वर्ष अवधिको १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने सरकारको योजना छ ।
राष्ट्र बैंकका अनुसार पुस २२ मा ६ वर्षका लागि १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल हुनेछ । राष्ट्र बैंकले सरकारको बैंकको रुपमा सरकारको योजना अनुसार आन्तरिक ऋण परिचालन गर्ने गर्छ ।