पोखरा । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय बिहीबार मन्त्रिपरिषद् बैठकले गरेको छ ।
असोज ११ गतेपछि बाढीपहिरोले देशैभर धनजनको क्षति पुर्याएको छ । मन्त्रिपरिषद् बैठकले बाढी पहिरोबाट ज्यान गुमाएकोप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ताको खोजी, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।
‘विपद्का कारण काठमाण्डु उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भयो । यो विपत्तिको सामना हामी सबै मिलेर गर्नुपर्छ भन्ने धेयले प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो,’ मुख्यमन्त्री पाण्डेले भने ।
प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुनर्निर्माण लगायतका कार्यमा संघ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ ।
गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईंको संयोजकत्वमा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सीडीई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रविण ढकाल सदस्य रहने गरी समिति गठन भएको छ ।
समितिले प्रदेशभर विपद्ले पुर्याएको क्षतिको मूल्यांकन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन सरकारसमक्ष पेश गर्नेछ ।