काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको उपाधि क्यानडाले जितेको छ ।
क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।
३ देश सम्मिलित सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । क्यानडाले पहिलो खेलमा नेपाललाई १४ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।
ओमानविरुद्धको पहिलो खेलमा क्यानडा ८ विकेटले पराजित भएको थियो ।
सिरिजमा नेपाल भने दोस्रो स्थानमा रह्यो । यसअघि नेपालले ओमानलाई पहिलो खेलमा ३७ रन तथा दोस्रो खेलमा ५६ रनले हराएको थियो । खेलमा ओमानले दिएको ८३ रनको लक्ष्यलाई क्यानडाले १४ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
क्यानडाका लागि कप्तान निकलोस कृतनले सर्वाधिक २० रनको योगदान दिए भने हर्ष ठाकरले १८ रन बनाए । दिलप्रित बजवाले १४ तथा नभनित धलिवालले ११ रन बनाए ।
ओमानका अकिब इलियासल र कालिमउल्लाहले समान २–२ विकेट लिए भने जिसन मक्सुदले १ विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो ।
ओमानको लागि कप्तान अकिब इलियासले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ४४ बलमा ३ चौका र १ छक्काको सहायताले ३५ रन जोडेका हुन् । शाकिल अहमदले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ क्यानडाका अखिल कुमार र प्रभिन कुमारले समान ३–३ विकेट लिए भने हर्ष ठाकरले २ विकेट लिए । सादविन जफरले १ विकेट झारे ।