काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले विपद् प्रभावित जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ ।
बाढी, पहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस गरिएको छ ।
गृहमन्त्री रमेश लेखक नेतृत्वको समितिको शुक्रबारको बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ ।
आगामी मन्त्रिपरिषद् बैठकले कार्यकारी समितिको सिफारिसअनुसार विपद् प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ ।
पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्लाका स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्न सिफारिस गरिएको प्राधिकरणले जनाएको छ ।