काठमाडौं । नेपाली काँग्रेसले नवरात्रको अवसर पारेर पशुपति क्षेत्रका विभिन्न स्थानमा बाढीले जम्मा पारेको फोहोर सफाइ गरेको छ ।
काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको आयोजनामा भएको कार्यक्रममा पार्टीका उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य एवं विभागका प्रमुख कल्याणकुमार गुरुङलगायत पार्टी नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यही असोज १०, ११ र १२ गतेको वर्षा र त्यसपछि आएको बाढीका कारण पशुपति क्षेत्रमा थुप्रिएको फोहर सफाइका लागि कार्यक्रम आयोजना गरिएको विभागका प्रमुख गुरुङले जानकारी दिए । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा र स्वच्छ राखी विश्वका पर्यटक यहाँ आकर्षित गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनि उनले जानकारी दिए ।
सम्पदा क्षेत्रलाई सधैँ सफा राख्नुपर्छ भनी पार्टीले वडा तहसम्म जागरण अभियान चलाउने पनि जनाइएको छ । त्यस अवसरमा पशुपति क्षेत्रका विश्वरूप, मृगस्थली, गुह्येश्वरी र त्यस नजिकको वाग्मतीमा सफाइ गरिएको थियो ।
काँग्रेसले बाढी, पहिरोका कारण वाग्मती नदी किनार र नदी किनारमा रहेका सम्पदा क्षेत्रमा जम्मा भएको फोहरलाई निरन्तर रूपमा सफाइ गर्ने जनाएको छ ।
यसै क्रममा यही असोज २१ गते बिहान ७ बजे ललितपुरको बागमती किनारस्थित बिपीनगरमा रहेको काँग्रेस केन्द्रीय कार्यालय परिसरमा सफाइ गरिने विभागीय प्रमुख गुरुङले जानकारी दिए । सम्पदा सफाइ अभियानमा जुट्न उनले पार्टीका विभिन्न तहमा क्रियाशील नेता, कार्यकर्तालाई अनुरोध गरेका छन् ।
बाढी, पहिरोबाट वाग्मती किनारमा जम्मा भएको फोहर सफाइ अभियान सकेपछि वाग्मतीको मुहानस्थित वागद्धार नै नदी सफाइका लागि अभियान चलाउने तयारी पनि विभागले गरेको छ । यो अभियानका लागि बीपी सङ्ग्रहालय सुन्दरीजललाई विशेष जिम्मेवारी दिइएको पनि काँग्रेसले जनाएको छ ।