काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण देश बन्न नसकेको बताएका छन् ।
उनले केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका ठूला दलका नेताहरूले देशलाई बिगारेको आरोप लगाए ।
झापामा आयोजित पार्टीनिकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङ्देनले ठूला दलहरू सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको बताए ।
उनले राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा १० वर्षभित्र राम्रो रोजगारीको व्यवस्था गराउन सकिने बताए । उनले राजनीतिमा भ्रष्ट र बेइमानहरूको बिगबिगी रहेको बताए ।
‘२०४६ सालदेखि अहिलेसम्म यो झण्डै ३५ वर्षको समयमा राजा ज्ञानेन्द्रले प्रत्यक्ष रूपमा १८ महिना शासन चलाएकोबाहेक सबै समय यो देशमा सरकार कसले चलाएको छ ? प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिए पनि कसले चलाएको छ देश ? यही कांग्रेस, यही एमाले, यही माओवादीहरूले देश चलाएका छन् र बितेर गएका गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनमोहन अधिकारीबाहेक त्यही केपी ओली, त्यही प्रचण्ड र त्यही शेरबहादुर देउवाको नेतृत्वमा यो देश चलिराखेको छ,’ उनले भने, ‘३५ वर्षमा देशको अवस्था कहाँबाट कहाँ पुग्यो । उनीहरू जसरी सत्ताका लागि प्रमुख दलहरू अथवा पहिलो र दोस्रो दल मिल्न सक्छन् । तर तपाईंको भविष्यको लागि, देशभित्र नै रोजगारी सिर्जना गर्नका लागि उनीहरू मिल्न सक्दैन्थे ।’