काठमाडौं । वि.सं २०५८ साल जेठ १९ गते शुक्रबार । त्यो दिनलाई इतिहासकै दुःखद दिनको रुपमा लिइन्छ । सोही दिन नारायणहिटी राजदरबारमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहसहित उनको सम्पूर्ण वंश नाश भएको थियो । जुन घटनाले सिंगो देश त्रसित बन्यो । हरेक कामकाज तथा परीक्षाहरू रोकिए ।
दरबार हत्याकाण्डले परीक्षा दिएर बसेका विद्यार्थीको जीवनको बाटो नै मोडियो । त्यही विद्यार्थीको भीडमध्येकी एक हुन्, इलामकी मेनुका मोक्तान । २०५८ सालमा कक्षा १२ को लिखित परीक्षा दिएर प्रयोगात्मक परीक्षाको तयारी गरिरहेकी थिइन् मेनुका । जेठ २१ गते आइतबार उनको प्रयोगात्मक परीक्षा थियो तर, शुक्रबार भएको राजपरिवारको हत्या प्रकरणले परीक्षा स्थगित भयो ।
स्थगित भएको परीक्षा कहिले सञ्चालन हुन्छ भन्ने केही टुङ्गो थिएन । मेनुकालाई भविष्यको चिन्ताले सताइरहेको थियो । त्यही समयमा धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्सको लागि इन्ट्रान्सको फारम खुलेको उनले थाहा पाइन् ।
विगतलाई कोट्याउँदै उनले भनिन्, ‘राजपरिवारको हत्याकाण्डले प्रयोगात्मक परीक्षा रोकिएर फुर्सदको समय थियो । खाली समयको सदुपयोग गर्न इन्ट्रान्सको परीक्षा दिएको पास भएँ । परीक्षा पास गरेपछि मेरो जीवनको बाटो नर्सिङतिर मोडियो ।’
२०५८ देखि २०६१ सालसम्म उनले प्रवीणता प्रमाण पत्र तह नर्सिङ (स्टाफ नर्स) पढिन् । ७८.८३% प्रतिशत ल्याएर पास गरिन् । ३ वर्षे स्टाफ नर्सको पढाइ सकेर उनले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै ४ वर्ष काम गरिन् ।
इलाम जिल्लाको सुर्योदय नगरपालिकास्थित तारागाउँमा बाबा मानबहादुर मोक्तान र आमा नारमाया तामाङको कोखबाट जन्मिएकी मेनुका हाल स्वास्थ्य सेवा विभागको आठौँ तहकी वरिष्ठ नर्सिङ अधिकृत हुन् ।
उनको बाल्यकाल इलाममै बित्यो । इलाम सदरमुकामस्थित ज्योती विद्या मन्दिरबाट प्रथम श्रेणीमा एस.एल.सी गरिन् । इलामकै आदर्श उच्च माविमा विज्ञान विषय अध्ययनरत थिइन् ।
कक्षा ११ को परीक्षा स्थगित भएपछि नर्सिङ अध्ययन गरेकी उनी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ वर्ष काम गरेपछि आफ्नो भविष्य खोज्दै चितवन झरिन् । सन् २०१० मा चितवन मेडिकल कलेजबाट ८२.२० प्रतिशत ल्याएर विशिष्ट श्रेणीमा पाश गरिन् । भन्छिन् ‘चितवन मेडिकल कलेजमा वीएन पढें । वीएनको पढाइ पुरा गरेर मौलकालिका हेल्थ साइन्सेन्स कलेजमा स्टाफ नर्सहरूलाई ४ वर्ष पढाएँ ।’
भूकम्पले सरकारी जागिरमा प्रवेश
चितवन छोडेर २०७० मा उनी काठमाडौं आइन् । काठमाडौंको लिटल एन्जेल समूहले सञ्चालन गरेको जनमैत्री हेल्थ फाउन्डेसनमा वीएससी नर्सिङका विद्यार्थीहरूलाई पढाइन् । तर, २०७२ सालमा गएको भूकम्प गएपछि कलेजहरू बन्द भए ।
मेनुकाले फुर्सदको समय सदुपयोग गर्न लोक सेवा आयोगको परीक्षा दिने योजना बनाइन् । उनी भन्छिन्, ‘ठुलो भूकम्प गएका कारण कलेजहरू बन्द भए । हस्पिटलमा पढाउन जान पनि पाइएन र स्नातकोत्तरमा भर्ना पनि हुन सकिएन । त्यसैले खाली समयमा यत्तिकै बस्न भन्दा लोक सेवा आयोगको तयारी गर्ने योजना बनाएर पढेँ ।’
उनी पहिलो प्रयासमै नर्सिङ अधिकृतमा नाम निकाल्न सफल भएकी हुन् । उनले थपिन्, ‘२०७३ सालमा नर्सिङ अधिकृतको लागि ठुलो संख्यामा माग आयो । मैले पनि तयारी गरेको थिए । त्यही भएर एक पटक कोसिस गरौँ न त भन्ने भयो । परीक्षा दिएको पहिलो पटकमै नाम निस्कियो ।’
नर्सिङ अधिकृतमा नाम निकालेपछि आफ्नै गृह जिल्लाको इलाम अस्पतालमा उनले काम गरिन् । ‘दुई वर्ष इलाम अस्पतालमा काम गरेपछि २०७५ सालमा काज सरुवा भयो र कर्मचारी समायोजन पनि भयो’, उनले भनिन्, ‘मेरो सरुवा स्वास्थ्य सेवा विभागमा भयो । अहिले म विभागको नर्सिङ महाशाखामा कार्यरत छु ।’
नर्सिङ महाशाखामा तीन वटा शाखा छन् । उनी सामाजिक स्वास्थ्य सुरक्षा शाखामा कार्यरत छिन् । नेपाल सरकारको दिएको स्वास्थ्य सेवा अन्तर्गत विपन्न नागरिक औषधी उपचार कार्यक्रम यस शाखाले हेर्ने उनले सुनाइन् । उनी भन्छिन्, ‘यस कार्यक्रम अन्तर्गत नेपाल सरकारले ८ वटा कडा रोगलाई निःशुल्क सेवा दिइरहेको छ । यस शाखाले निःशुल्क उपचार गर्ने अस्पतालहरू सूचिकृत गर्ने, अनुगमन गर्ने, अस्पतालबाट आएको रिपोर्ट भेरिफाइ गर्ने र बिरामीसँग अन्तरक्रिया गर्ने गर्छ ।’
विपन्न परिवारका बिरामीहरूलाई लागेको ८ वटा कडा रोग (मृगौला रोग, मुटु रोग, क्यान्सर, हेड इन्जुरी, सिकल सेल एनेमिया, स्पाइनल इन्जुरी, पार्किन्सन्स, अल्जाइमर्स) को उपचारमा सरकारले सहुलियत प्रदान गरेको छ ।
यी सेवाअन्तर्गत मृगौला रोगको हकमा अल्पकालीन मृगौलाले काम नगरेकोमा १ लाख रुपैयाँसम्मको सेवा सुविधा, प्रत्यारोपण गर्ने हकमा ५ लाख ५० हजार, हेमोडायलिसिस हप्ताको २ पटक, चिकित्सकको प्रेस्क्रिप्सनको आधारमा हप्ताको ३ पटक (प्रतिसेसन २५०० रुपैयाँ) को दर, पेरिटोनियल डायलिसिस प्रतिदिन ३ प्याकेट (प्रतिप्याकेट ५०१ रुपैयाँ) को दर र चिकित्सकको प्रेसक्रिप्सन प्रतिदिन ४ प्याकेटसम्म निरन्तर प्रदान गरेको छ ।
मृगौला रोग बाहेक अन्य ७ रोग लागेमा १ लाख रुपैयाँसम्मको उपचार खर्च सरकारले ब्यहोर्दै आएको छ । सरकारले आर्थिक अवस्थामा कमजोर भएका विपन्न नागरिकलाई यस्तो सेवा दिँदै आइरहेको नर्सिङ अधिकृत मेनुका मोक्तान बताउँछिन् ।
‘राज्यले नागरिकप्रति जिम्मेवारी वहन गर्दै कडा रोग लागेमा १ लाखसम्मको उपचार सहुलियत प्रदान गर्छ,’ उनले भनिन्,‘जसले गर्दा विपन्न नागरिकहरूलाई उपचारमा सहुलियत भएको छ ।’
यस्तै, सरकारले सात वटै प्रदेशमा मापदण्ड पुगेका र सेवा विस्तार गर्न सक्ने क्षमता भएका अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने योजना अगाडि सरेको उनको भनाइ छ । उनका अनुसार सरकारले दिएको स्वास्थ्य सेवा लिन वडाले सिफारिस गरेको हुनपर्छ । अथवा राज्यले गरिब परिचय पत्र दिएको हुनुपर्छ ।
आ. व. २०७९/०८० मा विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत सेवा लिनेको संख्या
१. मृगौला रोग
- अल्पकालीन मृगौला रोग - ७५८
- मृगौला प्रत्यारोपण - ४४५
- हेमोडायलाईसिस ६६५४
- पेरिटोनियल डायलाईसिस ३२५
२. मुटु रोग - ६५१२
३. क्यान्सर - २१५३७
४. हेड इन्जुरी - ७३६
५. सिकल सेल एनेमिया - १५४५
६. स्पाईनल इन्जुरी - ११८५
७. पर्किन्संस - ७९
८. अल्जाईमस - ३५
स्रोत: स्वास्थ्य सेवा विभाग
सात वर्ष स्वास्थ्य क्षेत्रको सरकारी सेवामा कार्यरत मेनुका जनताको सेवा गर्दै आएकी छिन् । उनी सरकारी क्षेत्रको स्वास्थ्य सेवामा अहिले ठुलो तथा सकारात्मक परिवर्तन आएको बताउँछिन् ।
विगतलाई सम्झिँदै उनले भनिन्, ‘सरकारी अस्पतालमा समयमा उपचार पाइँदैन । त्यहाँका कर्मचारी छुच्चा हुन्छन् । औषधी पनि दिँदैनन् भन्ने जन मानसिकता अत्यधिक थियो । त्यसैले जति पैसा खर्च भएपनि निजी अस्पतालमै बिरामी पुग्थे ।’
तर, सरकारले सरकारी अस्पतालको सेवामा सुधार ल्याएपछि अहिले सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै गएको उनी बताउँछिन् । अहिले तीन तहका सरकारले स्वास्थ्य क्षेत्रको परिवर्तन गर्न विभिन्न योजना बनाएर अगाडि बढेको उनको बुझाई छ ।
‘तीनै तहका सरकारले आफ्नो क्षेत्र अधिकार भित्र स्वास्थ्य कर्मचारीको आवश्यकता अनुसार व्यवस्था गर्दै आएको छ,’ उनले भनिन्, ‘पहिला जस्तोसुकै बिरामी भएपनि निजी अस्पताल र फार्मेसी जाने प्रचलन धेरै थियो । तर अहिले पहिला नजिकैको स्वास्थ्य संस्थामा जाने गर्छन् । कडा रोग लागेर त्यहाँ उपचार नहुने भएपछि मात्रै सुविधा सम्पन्न स्थान र अस्पतालको खोजी गर्छन् ।’
स्वास्थ्यकर्मीलाई गाउँ–गाउँमा गएर जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गरुन् भनेर प्रेरित गर्न सरकारले विभिन्न सेवा, सुविधा र भत्ता दिने गरेको उनले सुनाइन् ।
नागरिकले सरकारी स्वास्थ्य सेवालाई विश्वास गरेपनि बिरामी हुँदा नजिकैको अस्पतालमा नगएर धामी झाँक्रीमा जाने चलन अझै पनि पूर्ण रुपमा हटि नसकेको उनको बुझाई छ । भन्छिन्, ‘अझै यस्ता केही भूगोलका समाजमा यस्तो मनोविज्ञान छ की उनीहरू बिरामी हुनासाथ अस्पताल होइन धामी झाँक्री कहाँ जान्छन् । अस्पताल नगएर धामी झाँक्री कहाँ जाँदा बिरामीले समयमा उपचार पाउन सक्दैनन् । बिरामी अन्तिम चरणमा अस्पताल पुग्छन् । कडा रोग लागेको छ भने रोग निदानमा ढिला हुन्छ । अन्तिम अवस्थामा आएका बिरामीलाई औषधी उपचारले पनि निको पार्न सक्दैनन् । त्यसले गर्दा मृत्युदर बढ्दै जान्छ ।’
यस्तो सामाजिक चलनचल्ती हटाउन सरकारले विभिन्न जनचेतनाको कार्यक्रम पनि सञ्चालन गर्दै आएको मेनुका बताउँछिन् । उनले आफ्नो धारणा राख्दै यस्तो चलनचल्ती पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका कारण परिवर्तन हुन समय लाग्ने बताइन् ।
पुस्तौं पुस्ताको चलनचल्तीका बाबजुद नागरिक आफ्नो स्वास्थ्यप्रति गम्भीर हुँदै गएको उनी बताउँछिन् । भन्छिन्, ‘स्वास्थ्य स्वयंसेविकाले समुदायलाई स्वास्थ्य संस्थासँग जोड्ने काम गरिरहेका छन् ।’
कुनैपनि व्यक्ति बिरामी हुँदा धामी झाँक्रीकोमा नगएर छिटोभन्दा छिटो नजिकैको स्वास्थ्य संस्था तथा अस्पतालमा जान मोक्तान सुझाव दिन्छिन् । अर्कोतर्फ, उनले सरकारको कमजोरी केलाउँदै नेपालको ७७ जिल्लामा स्वास्थ्यकर्मी पुर्याउन नसकेको र भौतिक पूर्वाधार निर्माण नगर्दा पनि बिरामीलाई अस्पताल समयमा पुग्न सकस भएको समेत उल्लेख गरिन् ।
सरकारी क्षेत्रमा छोटो समय काम गरेको भएपनि सरकारको नीति नियम र अनुशासन अनुसार काम नभएको उनले अनुभव गरेकी छिन् ।
उनी भन्छिन्, ‘काम गर्दा स्थानीय सरकार, प्रदेश सरकारसँग र सेवा प्रदायक अस्पताल तथा नीतिगत निर्णय गर्ने मन्त्रालयसँग सहकार्य गर्नुपर्छ । काम गर्ने क्रममा नीति नियम अनुसार काम गर्न पाइँदैन । कुनै पनि व्यक्ति तथा संघसंस्थाले भनसुनको आधारमा आफ्नो काम पहिले र छिटो गरिदिनु पर्ने दबाब दिन्छन् । यस्तो भनसुनको आधारमा कसैको सिफारिस लिएर आउँदा हामी जस्ता कर्मचारीलाई काम गर्न निकै गाह्रो हुन्छ ।’