काठमाडौं । रक्षा मन्त्रालय सुरक्षा निकायअन्तर्गत नेपाल सरकारको प्रमुख अंग हो । यसले देशको राष्ट्रिय एकता, शान्ति सुरक्षा कायम जस्ता विषयमा विभिन्न तवरबाट आर्थिक, सामाजिक, भौगोलिक, स्वाधीनता, मनोवैज्ञानिक जस्ता कुरामा राष्ट्रको सुरक्षाको लागि काम गर्छ ।
मन्त्रालयको आफ्नै पृथक् ओज र गरिमा छ । नेपाली सेनासँग प्रत्यक्ष सम्बन्ध राख्ने यस मन्त्रालयको चौथो तला उक्लिएपछि एउटा कोठामा सहकर्मीसँग मुस्कुराउँदै काम गरिरहेको अवस्थामा पहिलो पटक उपसचिव फणिन्द्र प्रसाद पौडेललाई भेटेको थिएँ ।
उच्च तहदेखि सामान्य कर्मचारीलाई समान व्यवहार गर्ने पौडेल रिसाउँदा बिरामी हुन्छन् । उनी भन्छन् ‘कुनैबेला रिसाएँ भने टाउको दुखेर गाह्रो बनाउँछ । सायद मेरो शरीरमा रिसाउने हार्मोन सक्रिय छैन ।’
बुवाको औँला समाएर एमफीलसम्म
ध्यानलाई शक्ति बनाएर दैनिक जीवनयापन गरिरहेका पौडेलको जीवनको पहिलो अध्याय सिन्धुपाल्चोकको माङ्खाबाट सुरु भएको हो । शिक्षक बुवाको छायामुनि कक्षा ५ सम्मको अध्ययन उनले गाउँकै कुपकन्या प्रा.वि (हाल मावि)बाट गरेका हुन् ।
पहिलो पटक विद्यालय जाँदा रमाउँदै पुगेको उनी सम्झिन्छन् । ५ वर्षको उमेरमा उनलाई पहिलो पटक बुवाले विद्यालय लिएर गएका थिए । विद्यालय रमाइलो लाग्नुको एक कारण उनका शिक्षक माइला बुवा थिए भने अर्का नजिकका साथी बालकृष्ण कोइराला थिए । कोइरालासँगै विद्यालय आउने/जाने गरेका उनी अहिले पनि आफूहरू मिल्ने साथी रहेको बताउँछन् ।
खुला किताबजस्तो उनको जीवनको दोस्रो अध्याय बाह्रबिसेको सेरोफेरोमा घुम्छ । सिन्धुपाल्चोकको बाह्रबिसे वरपरका गाउँका निम्ति सहर थियो । र, कक्षा ५ सम्म घरमै बसेर अध्ययन गरेका फणिन्द्र थप अध्ययनका लागि गाउँ छाडेर सहर पसे ।
बाल्यकालमै गाउँको जनजीवनबाट टाढा बिरानो सहरमा जानुपर्दा उनलाई नरमाइलो भने लागेको थियो । गाउँ अनि आमा, बुवाको काख छाडेर बजारमा पढ्दाको परिवेश फरक रहेको उनी बताउँछन् । तर शिक्षा हासिल गर्न पनि उत्तिकै जरुरी थियो । उनी ०४७ सालमा बाह्रबिसे पुगेका हुन् । विद्यालय तहमा उनको पढाई मध्यम खालको थियो । फणिन्द्रले बाह्रबिसेको शारदा विद्यालयबाट ०५१ सालमा एसएलसी पास गरेका हुन् ।
बाल्यकालबाटै फरक प्रकृतिका फणिन्द्रलाई कुनैपनि स्थानमा बोलिहाल्न/नेतृत्व गर्न मन लाग्थ्यो । त्यसैले बाल्यकालबाटै आफूभित्र नेतृत्व गर्न सक्ने क्षमता थियो की भन्ने अनुभूति उनलाई हुन्छ ।
मध्यम वर्गीय परिवारको पाँच सन्तानमध्ये फणिन्द्र जेठा हुन् । भन्छन् 'दुई छाक खानलाई दुःख नहुने अवस्था थियो ।' थोरै पुर्ख्यौली सम्पत्ति र बुवाको शिक्षण पेसाबाट हुने आम्दानीले घर धानेको थियो ।
विभिन्न विषयमा अध्ययन गरेका उनी शिक्षाप्रतिको आफ्नो आकर्षण पुर्खाबाट हस्तान्तरण हुँदै आएको ठान्छन् । यसको उदाहरण दिँदै उनले आफ्नो जिजु बाजेले सम्भवतः पृथ्वीनारायण शाहदेखि गृवाणयुद्ध शाहसम्मको पालामा महाभारत पुस्तक लेखेको बताए ।
परम्परागत शैलीमा कागज बनाएर सुरक्षित तरिका अपनाई तयार गरिएको पुस्तकलाई अहिलेसम्म किटपतङले क्षति पुर्याएका छैनन् । महाभारतसँग सम्बन्धित उक्त पुस्तकको लिपी भने बुझिँदैन । उनी भन्छन्, ‘सायद त्यसैको विरासत क्रमशः प्राप्त हुँदै गएर मेरो पुस्तासम्म आइपुगेको हो । आफूमा पढ्नुपर्छ भन्ने चेतना आएको त्यसरी नै आएको हो जस्तो लाग्छ ।’
अध्ययनको सिलसिलामा उनले लामो समय व्यतीत गरेका छन् । व्यवस्थापन, मानविकी संकायबाट स्नातकोत्तर गरेका उनले एलएलबी र केही समय अंग्रेजी साहित्यको अध्ययन समेत गरेका छन् । साथै प्लानिङ एण्ड पोलिसी नेपालमा एमफील समेत पुरा गरेका छन् ।
लेक्चररबाट निजामती कर्मचारी
निजामती सेवामा आफ्नो प्रवेश अलिक ढिला नै भएको उनी बताउँछन् । निजामती सेवा प्रवेश गर्दा उनी ३३ वर्षका भइसकेका थिए । ०६८ सालमा निजामती सेवाअन्तर्गत प्रशासनतर्फको परीक्षा दिएर सरकारी सेवामा प्रवेश गरेका उनी एकैपटकमा पास भएका भने होइनन् । उनले तेस्रो प्रयासमा अधिकृतको परीक्षा पास गरेका हुन् ।
उनी भन्छन्, 'एक पटक बुझ्दाबुझ्दै गइहाल्यो, दोस्रो पटक राम्रै पढेको जस्तो लाग्छ तर मिहिनेत पुगेनछ, तेस्रो पटकमा भने पास भएँ ।’
काठमाडौंबाट अफिसरको परीक्षा दिनुअघि उनी विभिन्न कलेजहरूमा लेक्चररको रुपमा काम गर्दै आएका थिए ।लेक्चरर हुँदा र निजामती कर्मचारी हुँदाको दैनिकीमा थोरै फरक रहेको उनी बताउँछन् । भन्छन्, 'लेक्चरर शैक्षिक क्षेत्र तथा प्राज्ञिक विधा भएकाले शैक्षिक कुरामा खुलस्त हुने वातावरण मिल्थ्यो । तर, निजामती क्षेत्रमा सीमा र दायरा हुन्छ । अहिले सरकारको नीतिप्रति प्रतिबद्ध रहेर राजनीतिप्रति तटस्थ रहेर काम गर्ने क्षेत्रमा छु ।'
उनका ठुलो बुवा र दाइ निजामती क्षेत्रमा रहेकाले उनीहरूको हिँडाई, बसाइ, पहुँच आदि कुराले आफूलाई यस क्षेत्रप्रति आकर्षित गरेको उनलाई लाग्छ ।
निजामती कर्मचारीको यात्रामा उनले लामो समय योजना आयोगमा बिताएका छन् । पाँच वर्ष आयोगमा काम गरेका उनको पहिलो नियुक्ति ०६९ सालमा हुलाकमा भएको थियो । सञ्चार मन्त्रालयअन्तर्गत रहेको हुलाकको १ वर्षे कार्यकालपछि उनी योजना आयोगमा पुगेका हुन् ।
०७० वैशाख २५ बाट योजना आयोगमा काम गरेका उनले ०७५ साल साउन ४ गते खुलाबाट उपसचिव पास गरेका हुन् ।उपसचिव पास भएपछि स्थानीय विकास मन्त्रालयअन्तर्गत बाह्रबिसे तथा चौतारा नगरपालिकामा उनले काम गरे । उद्योग मन्त्रालयअन्तर्गतको लघु घरेलु तथा साना उद्योगमा केही महिना बिताएका उनले २०७९ साल असार १३ गतेबाट रक्षा मन्त्रालयमा आबद्ध भएर एक वर्षे कार्यकाल पुरा गरिसकेका छन् ।
त्यो आत्मसन्तुष्टि
निजामती सेवामा प्रवेश गरेपछि सिन्धुपाल्चोकको बाह्रबिसेमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दा आफूले निकै आत्मसन्तुष्टि पाएको उनी बताउँछन् ।
आफ्नो ठाउँ समेत भएकाले मौका मिल्दा केही न केही गर्नुपर्छ भन्ने उनलाई लागेको थियो । नगरपालिकाबाट हिँडेर जाँदा ५/६ घण्टा लाग्ने घुम्थाङ/मान्द्रा/घोरथली जस्ता दुर्गम ठाउँमा त्यहाँका जनप्रतिनिधिसँग समन्वय गरेर उनले विशेष अभियान चलाएका थिए ।
नगरपालिकाले दिने डाक्टर, औषधी, पशु सेवा, ज्येष्ठ नागरिकलाई भत्ता लगायत समेटिएको टोली लिएर उनी फिल्डमै सेवा दिन पुगेका थिए ।
जनताले पाउने सेवा सुविधा उनीहरूकै ठाउँमा दिँदा धेरै जनता लाभान्वितका साथै हर्षित हुँदा आफूलाई आनन्द मिलेको उनी सुनाउँछन् । उक्त कुरा टेलिभिजनबाट समेत प्रसारण भएको उनले बताए ।
विपश्यनाबाट परिवर्तन भएको जीवन
जीवनमा ध्यानलाई विशेष स्थान दिने फणिन्द्र विपश्यना ध्यान केन्द्रमा गएर समेत बसेका छन् । उनलाई बाल्यकालदेखि मूल्य, मान्यता, परम्परा, शास्त्रीय विधिअनुसार अग्रजहरूले वनमा गएर वर्षौँ बिताएको कुरा पढ्दा उत्सुकता लाग्ने गर्थ्यो ।
यो के होला ? मानिसहरू कसरी बस्ने रहेछन् भन्ने कौतुहलता थियो । यसैबीच जीवनको एक समयमा उनले विपश्यनाको बारेमा थाह पाए । बाल्यकालदेखिका उत्सुकता बोकेर त्यहाँ जाँदा माहौल नै फरक भेटेको उनी बताउँछन् ।
आध्यात्मिक संसारको आफ्नो छुट्टै वातावरण रहेको उनी बताउँछन् । मानिसहरू बढी भौतिक संसारमै रमाउने गर्दा अध्यात्मले राम्रो परिवेश प्रस्तुत गरेको उनको अनुभवले बताउँछ । अहिले पनि कहिलेकाहीँ चिन्ता बढ्दा उनी विपश्यनाका कुरालाई प्रयोगमा ल्याउने गर्छन् ।
विपश्यना गएर आइसकेपछि अहिले उनी सकेसम्म अन्य व्यक्तिसँग ठुलो स्वरले बोल्दैनन् । बोल्दा पनि कसैलाई होच्याएर बोल्न उनलाई मन पर्दैन । आफूभन्दा उच्च तथा सामान्य तहका सहकर्मीसँग उनी उस्तै व्यवहार तथा सम्बोधन गर्ने गर्छन् । सकेसम्म हाँसेर बोल्ने उनको बानी छ ।
आफूमा आएको परिवर्तन महसुस गर्दै उनी भन्छन्, 'कहिलेकाहीँ रिसाउनुपर्दा, प्रेसर हाइ हुन्छ, टाउको दुख्छ । त्यही भएर यो रिस भन्ने कुरा नदेखाउनुपर्ने रहेछ भन्ने मलाई लाग्छ । यसले मलाई सकेसम्म अरूसँग मित्रवत् व्यवहार गर् भनिरहेको छ । यो सबै त्यहीँबाट आएको हो की जस्तो लाग्छ ।'
कामअनुसार खाना
उनी सामान्यतया सबै किसिमका खानेकुरा खान्छन् । आफू शाकाहारी नभएको तर सीमित मात्रामा सन्तुलन मिलाएर खाने गरेको उनी सुनाउँछन् । शरीरलाई चाहिने सबै खानुपर्छ भन्ने कुरामा उनी विश्वास गर्छन् ।
उनी भन्छन्, 'हाम्रोमा पद, प्रतिष्ठाअनुसार खानपान खाने चलन रहेको छ । म कामअनुसार खाना खानुपर्छ भन्ने विश्वास राख्छु । बढी परिश्रम गर्नेले कडा खानुपर्छ र कुर्सीमा बसेर दिन बिताउनेले हल्का खाना खानुपर्छ ।'
अध्यात्म र सामान्य जीवन मानसिक सुखको अभ्यास
विश्वमा बढिरहेको मानसिक स्वास्थ्यको जटिलताबारे कुरा गर्दै उनी यसमा खानपान, ध्यान र महत्वाकांक्षाले असर गर्ने बताउँछन् । 'नयाँ परिवेश सँगसँगै हाम्रो आशा र महत्वाकांक्षा ठुला राख्न थालेका छौं । यो नेपालको मात्र नभएर विश्व परिवेशकै समस्याको रूपमा देखा परेको छ’, उनी भन्छन् ‘विकासको विभिन्न चरणहरू पार हुँदै जाँदा भौतिकलाई मात्र प्राथमिकता दिँदा अध्यात्मका पाटोहरू निकै छुटेका छन् । त्यही भएर अहिले विश्वमा विकासको प्याराफ्रेज परिवर्तन हुँदै गएको छ ।'
गरिबी निवारण, भोकमरी, भौतिक पूर्वाधार, रोजगारीलाई मात्र विकासको सूचक मानिराखेका परिस्थिति परिवर्तन हुँदै गएर समृद्धि र सुखका सूचक अहिले आएका छन् । १५ औं योजनामा राखिएको समृद्ध नेपालले पनि एक किसिमले जीवनको गुणस्तरलाई बढावा दिने, सुखीले मानसिक जीवनलाई प्रतिनिधित्व गर्ने उनी बताउँछन् ।
नेपाल खुसी हुने देशमा ७८औं स्थानमा रहेको छ । देश जति धनी हुँदै गयो त्यति नै आत्महत्याको डर पनि बढ्दै गएको पाइएको उनी बताउँछन् । त्यसकरण आध्यात्मिकता र भौतिकतालाई जोडेर मानसिक सुख, शान्तिका कुरालाई बच्चा बेलादेखि नै सिकाउँदै जानुपर्ने उनको जोड छ ।
'जीवनको सुन्दर पक्षबारे साक्षात्कार गर्दै लैजानुपर्छ । बालखबाटै यो कुराको अवगत गराउँदै लगियो भने यसले दुःखमा पनि बाँच्न, रमाउन सिक्छ होला मान्छेले’, उनी भन्छन् 'सम्भवत जीवन जिउन सक्छ ।'
निवृत्तपछि ध्यान र गाउँले जीवन
सेवा निवृत्तपछिको जीवनबारे उनले अहिले नै सोचिसकेका छैनन् । तर कहिलेकाहीँ आफू साधारण जीवन बिताउँछु जस्तो उनलाई लाग्छ । ‘जन्मे हुर्केको समाजमा जाने आउने गर्छु होला । उक्त ठाउँमा छुट्टै आनन्द आउँछ', भन्छन् ‘कहिलेकाहीँ तनाव हुँदा त्यता जाँदा आनन्द आउँछ ।'
प्रतिस्पर्धी युग, भूमि, जीवन र समय भएको बेला त्यहाँ जाँदा पहिलाको यादमा उनी रुमलिने गर्छन् । अहिलेको कोलाहलमय र प्रदूषित वातावरण देखेर चिन्तित हुँदा उनी बाल्यकालका मिठा स्मृतिहरूमा रुमलिने गर्छन् । गाउँले जीवनका पानाहरू पल्टाउने गर्छन् । उनी भन्छन् ‘ कहिलेकाहीँ सम्झिएर नोस्टाल्जिक हुन्छु ।’
निवृत्त पछिको जीवन विपश्यनासँग नजिक भएर बिताउँछु की जस्तो उनलाई लाग्छ ।
परिवारको पारस्परिक सम्बन्धमा रमाउने उनलाई संयुक्त पारिवारिक ढाँचा मनपर्छ । उनी ७० वर्षभन्दा माथिका बुवा कमल प्रसाद पौडेल र ६५ वर्ष भन्दा माथिकी आमा गोमा कुमारी पौडेलसँगै बस्छन् ।
निजामती सेवा सुन्दर सेवा
कुनैपनि निजामती कर्मचारीको सपना हुन्छ यो क्षेत्रको अग्र स्थानमा पुग्ने । त्यो पुरा हुने नहुने समयले निर्धारण गर्ने कुरा हो । उनलाई निजामती क्षेत्रसँग उति गुनासो छैन । उनी निजामती सेवालाई असाध्यै सम्मान गर्छन् । निजामती सेवामा नभएको भए आफू परदेशमा हुनसक्ने उनी अनुमान लगाउँछन् ।
निजामती सेवाले जीवनमा परिचय दिएको, पहुँच बढाइदिएको, जनताको सेवा गर्ने मौका, स्थानीय-संघीयदेखी केन्द्रसम्म काम गर्ने अवसर पाएको उनी बताउँछन् । अन्य कर्मचारी झैँ उनलाई पनि यसको माथिल्लो पदसम्म पुग्ने चाहना छ । उनी भन्छन्, 'इच्छा त माथिल्लो पदमा पुग्ने नै हुन्छ तर समयले के गर्छ थाह छैन ।'
'निजामती सेवाबाटै आफ्नो घर, परिवार चलिरहेको, बच्चाहरू पढ्न पाइरहेका छन्', उनी भन्छन् 'बुवा आमाको सेवा गर्ने मौका मिलिरहेको छ । यसैको आम्दानीको स्रोतले आर्थिक रूपमा सहयोग पुगिरहेको छ ।'
निजामती सेवा नेपाल र अन्तर्राष्ट्रिय सन्दर्भमा अत्यन्तै सुन्दर सेवा रहेको उनी बताउँछन् । जहाँ जनता र राष्ट्रको सेवा गर्ने मौका पाइन्छ । सेवाबाट वृत्ति विकासको मौका पनि मिल्छ । सबैले आ-आफ्नो ढंगले काम गरे नेपाल वास्तवमै सुदृढ हुँदै जाने विश्वास उनले लिएका छन् ।
लोकसेवाको तयारी गरिरहेका विद्यार्थीलाई उनी हरेस नखान सल्लाह दिन्छन् । भन्छन्, 'लोकसेवा जस्तो उत्कृष्ट र पवित्र संस्थाहरूमा मिहिनेत गर्दै गएपछि अवश्य पास भइन्छ । यो देशको सेवा गर्ने ठुलो मौका हो ।'