काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संघीय पर्यटन विधेयक तर्जुमाका लागि राय/सुझाव माग गरेको छ ।
मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै उक्त विधेयकका लागि राय/सुझाव माग गरेको हो ।
सूचनामा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू, पेशागत संघ संस्थाहरू, विज्ञहरू, अनुसन्धानकर्ताहरू लगायत सरोकारवाला सबैलाई नयाँ संघीय पर्यटन विधेयकमा समावेश गर्न आवश्यक देखिएका विषयबारे राय/सुझाव दिन भनिएको छ ।
मन्त्रालयले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र राय, सुझाव तथा पृष्ठपोषण उपलब्ध गराउन अनुरोध समेत गरेको छ ।
सूचनामा भनिएको छ, 'नेपालको संविधान बमोजिम पर्यटन सम्बन्धी कार्य संघ, प्रदेश र स्थानीय सरकारको कार्यक्षेत्र अन्तरगत रहेकोले पर्यटन प्रवर्द्धन, पर्यटकीय उपज तथा पूर्वाधारको विकास, उपयोग र नियमन सम्बन्धी कार्य तीनै तहका सरकार मार्फत अगाडि बढाउन, पर्यटन क्षेत्रमा विकसित नवीन विषयहरूलाई कानूनमा समावेश गरी नेपालको पर्यटन क्षेत्रलाई सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण आधारको रुपमा विकास र प्रवर्द्धन गर्न विद्यमान पर्यटन ऐन २०३५ लाई परिमार्जन गरी नयाँ संघीय पर्यटन विधेयक तर्जुमा गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८०/०३/२६ मा सैद्धान्तिक स्वीकृति प्राप्त भई पर्यटन विधेयकको मस्यौदा तर्जुमाको कार्य सुरु भएको ब्यहोरा जानकारी गराउँदै यस क्षेत्रमा संलग्न व्यवसायीहरू, पेशागत संघ संस्थाहरू, विज्ञहरू, अनुसन्धानकर्ताहरू लगायत सरोकारवाला सबैमा नयाँ संघीय पर्यटन विधेयकमा समावेश गर्न आवश्यक देखिएका विषयमा यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र राय, सुझाव तथा पृष्ठपोषण उपलब्ध गराउन अनुरोध छ ।'
हेर्नूहोस् सूचना: