काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गीको संक्रमणबाट हुन सक्ने महामारी रोकथाम र नियन्त्रणका लागि एकै पटक सबै वडामा लार्भा नष्ट गर्दै सचेतना अभियान अघि बढाएको छ ।
अभियान अन्तरगत आज विभिन्न वडामा पानी जमेका ठाउँमा लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका बारेमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने लगायतका क्रियाकलाप गरिएको छ । साथै माइकिङ् गरि रोगका विषयमा जानकारी दिँदै, रोग नियन्त्रणका लागि नागरिकको सहभागिताका लागि अनुरोध गरिएको छ । यस कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयमसेविकासहित स्थानीयहरू सहभागी भएका छन् ।
वडा नं ३१ ले शान्तिनगर गेटबाट सुरु गरेर बागमती नदी किनारातर्फ, वडा नं १३ को ताहाचल ककन्चो मार्ग, वडा नं २६ को लैनचौर, वडा २१ को वडाबाट जैसीदेवलतर्फको क्षेत्रमा अभियान सञ्चालन भइरहेको छ । वडा नं २९ को घट्टेकुलो चोकबाट मैतीदेवी चोकतर्फ, वडा नं १ को नागपोखरी, वडा नं १४ को सुनारगाउँ चोकबाट कुलेश्वरसम्म, वडा नं १७ को धोवी चौर क्षेत्र, वडा २५ को बांगेमुढा न्योखा, तननी, टेङ्गल, भेडासिं, मच्छिन्द्रबहाल क्षेत्र, वडा ३० को सहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट भैरवस्थान हुँदै कालोपुलतर्फ, वडा १९ को कंकेश्वरीबाट सुरु भएर इनाटोलतर्फ, वडा २ को लाजिम्पाट अम्बिका गल्ली, वडा २८ को भृकुटीमण्डप, वडा २४ को इटुम्बहालदेखि इन्द्रचोकसम्म अभियान चलिरहेको जनाइएको छ ।
कार्यक्रममा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बर्खायाममा संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय एडिस जातका लामखुट्टे फैलिन नदिनु रहेको बताए । लामखुट्टेको टोकाइबाट बच्न सके रोगबाट बच्न सकिने र यस अभियानमा स्थानीयबाट सहयोग पाइने अपेक्षा राखिएको उनले जनाए ।
संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने हुनाले सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, टायर, कौसी र बरण्डामा पानी जम्न दिन हुँदैन । यस्ता ठाउँमा पानी जम्नबाट रोक्न सके डेङ्गी फैलाउने लामखुट्टे नियन्त्रणमा सघाउ पुग्नेछ ।
साउन ३ गते महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिले सचेतनामूलक कार्यक्रमका लागि सरकारी तथा संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीबिच प्रतियोगितात्मक डेंगी रोग सम्बन्धी चित्रकला गर्ने निर्णय समेत गरेको छ । जसअनुसार शिक्षा विभागले विद्यालयहरूलाई पत्र पठाइसकेको छ । विद्यार्थीमार्फत अभिभावकसम्म संक्रमणका बारेमा चेतना पुर्याउने विद्यालय स्तरमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
प्रतियोगिताका लागि विद्यालयहरूले आन्तरिक प्रतिस्पर्धा गराएर १ जना विद्यार्थीलाई स्रोत केन्द्रमा पठाउनु पर्नेछ । स्रोत केन्द्रहरूले आफू मातहतका विद्यालयबाट छनोट भएर आएका विद्यार्थीबिच प्रतिस्पर्धा गराएर ३ जना उत्कृष्टलाई शिक्षा विभागमा सिफारिस गरेर पठाउनु पर्नेछ । विभागले प्राप्त चित्रमध्ये ३ वटा चित्रलाई पुरस्कृत गर्नेछ ।
विद्यालयहरुले साउन १९ गते शुक्रबार विद्यालयस्तरमा प्रतियोगिता गराउनुपर्ने जनाइएको छ । स्रोत केन्द्र स्तरमा भने साउन २६ गते शुक्रबार प्रतियोगिता हुनेछ । यसबाट छनौट भएर आएका विद्यार्थीहरूका विचमा भदौ १ गते शुक्रबार महानगर स्तरीय प्रतियोगिता हुनेछ ।
यसका अलावा महानगरले डेङ्गी रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स समेत प्रयोग गर्न सकिने प्रबन्ध मिलाइएको छ । रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधि स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराएको बताइएको छ ।