काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको इतिहासमै नेपाल पहिलो पटक भुटानसँग जित निकाल्न असफल हुँदा बराबरीबाट प्रतियोगिता सुरुवात गरेको छ ।
साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत दशरथ रंगशालमा शुक्रबार भएको खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । ‘ गोल भएन ठूलो कुरा त्यही हो । गोल हुनुपर्ने भएन,’ खेलपछि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सुरुमै पोष्ट म्याच कन्फ्रेन्समा भने ।
समूह बी मा रहेको नेपालको प्रतिद्वन्द्वी भुटान तुलनात्मक रुपमा कमजोर भए पनि पछिल्लो समय राम्रो गरिरहेको थियो । यद्यपि नेपालले भुटानलाई सहजै हराउने अनुमान थियो । तर, खेलको नतिजा भने त्यस्तो आउन सकेन ।
पहिलो खेल भएकोले नेपाली खेलाडीहरुबीच सुरुमै तालमेलको कमी प्रष्टै देखिएको थियो । सायद सावित्रा बिना प्रशिक्षकले नयाँ रणनीति प्रयोग गर्न खोजेका थिए तर मैदानमा भने त्यसले खासै काम गरेन ।
यस्तै नेपाली टिमका दुई प्रमुख खेलाडी हिरा कुमारी भुजेल र दीपा शाही खेल दौरान घाइते हुँदै मैदान छाड्न बाध्य भए । उनीहरुको चोटको अवस्था हेर्दा साफ च्याम्पियनसिपका बाँकी खेलहरु नै गुमाउने सम्भावना रहेको प्रशिक्षक तामाङले बताएका छन् ।
साफ वुमन्स च्याम्पियनसिपमा नेपालले अहिलेसम्म खेलेको यो पहिलो बराबरी हो । यसअघि ६ संस्करणमा गरी २७ खेल खेल्दा नेपालले २१ खेल जितेको थियो भने ६ खेलमा पराजित भएको थियो ।
यस्तै नेपालले साफ वुमन्स च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा जित निकाल्न नसकेको पनि यो पहिलो पटक हो ।
साम्बाको अभाव
अर्को संयोग पनि छ । गोल मेसिन सावित्रा भण्डारी साम्बा पहिलोपटक भुटानविरुद्ध नखेल्दा नेपालले नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
यसअघि साफमा नेपाल र भुटान चारपटक भेट हुँदा नेपालले चारै खेल जितेको थियो र २३ गोल गर्दा कुनै गोल खाएको थिएन । सबै चार खेलमा सावित्राले गोल गरेकी थिइन् ।
हाल फ्रान्समा इएनटी गुइग्याम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा २० अक्टोबरमा मात्र नेपाल आउनेछिन् ।