काठमाडौं । हरेक व्यक्तिको सपना हुन्छ । आफ्नै लक्ष्य हुन्छ । जीवनमा आफ्नो लक्ष्य प्राप्त गर्न धेरै संघर्ष गर्नुपर्छ । कोहीको सपना पुरा हुन्छ भने कोही विभिन्न समस्याका कारण आफ्नो सपना पुरा गर्न पाउँदैनन् । तर, आफ्नो इच्छाशक्ति भयो भने जस्तोजुकै समस्या र परिस्थितिले रोक्दैन । यसको उदाहरण हुन्– शेख मोतीउर रहमान ।
रहमानले लोक सेवा आयोगको परीक्षा दिएको तेस्रो पटकमा नाम निकाले । हाल महोत्तरी जिल्ला हुलाक कार्यालयमा कार्यरत उनी १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर फर्किएपछि लोक सेवाको तयारीमा लागेका थिए ।
वैदेशिक रोजगारीबाट फर्किएर शेख मोतीउर रहमानले अध्ययनलाई निरन्तरता दिए । जसको परिणामस्वरूप अहिले उनी निजामती कर्मचारी छन् ।
रौतहटको सामान्य परिवारमा जन्मिएका उनी परिवारको आर्थिक समस्याका कारण आफ्नो अध्ययन पुरा गर्न सकेनन् । भन्छन्, 'श्री माध्यामिक विद्यालयबाट एसएलसी पास गरे । घरको आर्थिक अवस्था कमजोर भएको कारण आफ्नो उच्च शिक्षा अध्ययन गर्न पाइन् । विदेश जान बाध्य भए ।'
परिवारको जिम्मेवारीले थिचेपछि पढाई अगाडि बढाउन चाहेर पनि उनले पढाइलाई निरन्तरता दिन पाएनन् । उनी पढाई मात्र छोडेनन्, देश नै छाड्न बाध्य भए । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका सहमानले आफ्नो काँधमा रहेको जिम्मेवारी निर्वाह गर्न १० वर्षसम्म कतारमा बिताए ।
लामो समय कतारमा काम गरेर आर्थिक अवस्था केही सुध्रियो । आर्थिक अवस्थामा सुधार भएपछि उनी आफ्नै देश नेपाल फर्किए । नेपाली भूमिमा पाइला टेक्ने बित्तिकै उनलाई पुनः आफ्नो सपनाले झकझक्यायो । भन्छन्, 'आफूले देखेको सपना पुरा गर्न कुनैपनि उमेर र समय सीमाले नरोक्ने रहेछ । सानै उमेरदेखि उच्च शिक्षा हासिल गरी सरकारी सेवामा लाग्ने सपना मैले पुरा गरेरै छाडे ।'
सपना पछ्याउँदै फर्किए देश अनि बने निजामती कर्मचारी
शेख मोतीउर रहमान महोत्तरीको जिल्ला हुलाक कार्यालयमा खरिदार पदमा कार्यरत छन् । उनी समाजका लागि एक प्रेरणाको स्रोत पनि हुन् । सरकारी जागिर हरेक मान्छेको सपना हो । यहाँ सरकारी जागिर खानकै लागि १०–१५ पटकसम्म लोक सेवा आयोगको परीक्षा दिने गरेको पनि थुप्रै उदाहरण छन् । तर, आफ्नो औपचारिक अध्ययन छोडेको १६ वर्षपछि पनि पुन अध्ययन गरेर निजामती कर्मचारी बन्नेहरू भने औलामा गन्न सकिन्छ । हो तिनै औलामा गन्न अटाउने व्यक्ति हुन् उनी ।
एसएलसी दिएर विदेश गएका उनी १० वर्ष विदेशमा बसे । १० वर्षपछि विदेशबाट फर्किएर आफ्नो रोकिएको पढाइलाई निरन्तरता दिए । उनले श्री माध्यामिक विद्यालय कनकपूर शिक्षा संकायबाट स्वास्थ्य विषय लिएर पढेका थिए ।
३२ वर्ष लागेका रहमानले १० वर्ष कतारमा काम गरेर नेपाल फर्केको ३ वर्षपछि लोक सेवा तयारी गरेका हुन् । विदेश गएर आएपनि आफ्नो घरपरिवार र साथीभाइको हौसलाले आफूलाई परीक्षा दिने हिम्मत जुटेको उनी बताउँछन् ।
भन्छन्, 'परिवारको साथ, साथीभाइको हौसला र आफूसँग भएको इच्छाशक्तिको कारण आज यो स्थानमा छु ।'
उनका साथीहरू सरकारी जागिरे भएका कारण उनीहरूले पनि लोक सेवाको परीक्षा दिन प्रेरित गरेको उनले बताए । भन्छन्, 'दोस्रो पटकसम्म नाम ननिस्किँदा पनि साथीहरूले मेरो हौसला कम हुन दिएनन् । र तेस्रो पटकको प्रयासमा मेरो नाम निस्कियो ।'
पहिलादेखि नै सरकारी जागिर खानुपर्छ भन्ने लक्ष्य भएका कारण पनि दुई पटकसम्म असफल भएपनि हिम्मत नहारी तेस्रो पटकमा नाम निकालेको उनले सुनाए । उनलाई लोक सेवा आयोगको परीक्षाको तयारी गर्न सहज त कहाँ भयो र ! तरपनि उनले कडा मेहनत गरेर आफ्नो लक्ष्य हासिल गरेरै छाडे ।
लोक सेवाको परीक्षाको तयारी गरेको क्षण सम्झिँदै २४ घण्टामा जम्मा ६ घण्टा मात्र सुत्ने गरेको सुनाए । आफ्नो लक्ष्य प्राप्त गर्न सफल भएका उनी आफ्नो सपना पुरा गर्न जस्तो सुकै परिस्थितिले रोक्न नसकेको अनुभव सुनाए ।
उनी परीक्षाको तयारी गर्दा दिनरात नभनी पढ्ने गर्थे । आफूले औपचारिक अध्ययन छाडेको लामो समय भएका कारण सुरु सुरुमा उनलाई पढ्न निकै गाह्रो भएको थियो । तर, उनलाई जसरी पनि सरकारी जागिर खानु थियो । त्यसैले दिन रात नभनी पढेको बताउँछन् उनी ।
धेरै नसुती पढेर मात्र पनि नहुने उनी बताउँछन् । भन्छन्, 'पढ्ने भनेर जे पाए त्यही पनि पढ्ने होइन । आफूले महत्पूर्ण विषय छानेर पढ्न सक्नु पर्ने रहेछ । अर्को कुरा, देशमा भएका समसामयिक घटनाको बारेमा जानकार हुनुपर्छ ।'
उनी थप्छन्, 'लोक सेवाको वृहत् अध्ययन गर्नुपर्छ । लोक सेवा पास हुनलाई अध्ययन नगरी हुँदैन । तर, अध्ययन गर्दा घोकेर मात्र हुँदैन । आफूले पढेका कुरा नबुझी पढ्ने हो भने यो परीक्षामा लेख्न कठिन हुन्छ । त्यो पढेको कुनै अर्थ हुँदैन । त्यसैले पढ्ने समयमा आफूले के पढ्दै छु भनेर बुझेर मात्र पढ्नु पर्छ । बुझेर पढेको कुरा परीक्षामा स्मरण गर्न सहज हुन्छ ।'
उनले २०७७ सालमा पहिलो पटक लोक सेवा आयोगको परीक्षा दिए तर उनी सफल हुन सकेनन् । असफल भएपनि उनी निरन्तर प्रयास गरिरहे । २०७८ सालमा पनि लोक सेवा आयोगको परीक्षा दिए । दोस्रो पटक पनि उनी पास हुन सकेनन् । तर त्यही सालमा उनी खरिदार पदमा अस्थायी सूचीमा परे । तर उनलाई स्थायी कर्मचारी भएर सरकारी सेवामा लाग्नु थियो ।
उनले पुनः २०७९ सालमा लोक सेवा आयोगको परीक्षा दिए । तेस्रो पटकको प्रयासमा उनी नाम निकाल्न सफल भए । तेस्रो पटकको परीक्षा सफल रहेपछि उनी पहिलो पटक २०८० साल जेठ महिनादेखि गण्डकी प्रदेशमा सहायक चौथोमा नाम निकाले र फेरि २०८० श्रावणमा खुला कोटाबाट खरिदार पदमा नाम निकाल्न सफल भए ।
शेख मोतीउर रहमान एक प्रेरणाको स्रोत हुन् । उनी आफ्नो घरको आर्थिक समस्याका कारण उच्च शिक्षा अध्ययन नगरी वैदेशिक रोजगारीका लागि कतार गए बसे । तर कहिले पनि हिम्मत हारेनन् । नेपाल फर्केर आफ्नो पुरानो सपना पुरा गरेका उनले समाजमा आफ्नो सपना पुरा गर्न कुनैपनि समस्याले छेक्न नसक्ने सन्देश समेत दिएका छन् ।