हेटौँडा । सुख, शान्ति, समृद्धि र आपसी सदभावका साथ मनाइने तिहारको समयमा रातिको ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मङ्गलबार विज्ञप्ति जारी गरी देउसी तथा भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू राति ९ बजेसम्म मात्र खेल्न पाइने उल्लेख गरेको छ । तिहार तथा छठ पर्वका समयमा जिल्लाभित्र शान्ति सुरक्षालाई प्रभावकारी तुल्याउन व्यापक रूपमा सुरक्षाकर्मी टोल–समुदाय क्षेत्रमा परिचालन गरी गस्ती बढाइएको र शान्तिपूर्ण एवम् सौहार्द्रपूर्ण वातावरणमा चाडपर्व मनाउन जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो ।
चाडपर्वको समयमा आफूले खुशीयाली मनाउँदा-मनोरञ्जन गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन, तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्ज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, बिक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्न प्रमुख जिल्ला अधिकारी चिलुवालले आग्रह गर्नुभयो । त्यस्तै जुवा–तास–लंगुरबुर्जा खेल्ने खेलाउने जस्ता कानुनले निषेध गरेका क्रियाकलापहरू नगर्ने, नगराउने, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू नगराउन अनुरोध गरिएको छ ।
त्यस्तै २०७९ साउन ११ को नेपाल राजपत्र अनुसार नेपाल सरकारले नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएकाले सो कार्य नगर्नु, नगराउनु हुन अनुरोध गर्दै प्रचलित कानुन विपरितका गतिविधि–क्रियाकलाप सञ्चालन गराइएको पाईए प्रचलित सम्बद्ध कानन बमोजिम कारबाही हुने भनिएको छ । शुभ दिपावली, नेपाल सम्वत् ११४५, छठ लगायतका राष्ट्रिय पर्वहरूको सुखद उपलक्ष्यमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, निजी तथा सङ्गठित संस्थामा आवद्ध पदाधिकारी एवम् कर्मचारी, सञ्चारकर्मी तथा समस्त मकवानपुर जिल्लावासीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि जिल्ला प्रशासन कार्यालय, मकवानपुरले शुभकामना समेत व्यक्त गरेको छ ।