काठमाडौं । आज यमपञ्चकको पहिलो दिन । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आज सुरु भएको छ । यमदूत मानिने कागको पूजा गरी आज काग तिहार मनाइँदै छ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।
कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । आजको दिन कागको पूजा गरी मिठो खानेकुरा दिने गरिन्छ । कागलाई दही र भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ ।
यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । त्यसैगरी हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि कागको पूजा गरिन्छ ।
यस्तै यम दीपदान गर्नेक्रम पनि आज बेलुकादेखि नै सुरु गरिँदैछ । यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकादेखि शुरु भएको हो ।
काग सम्मेलन
यसै अवसरमा कलाकार रमेश दुलाल (कागे) ले काठमाण्डौमा २१ औँ काग सम्मेलन गरेका छन् । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न सक्ने इलामका कलाकार दुलालले अघिल्ला वर्षहरूमा झैँ यो वर्ष पनि कागहरूलाई भेला गराएर सम्मेलन गरेका हुन् ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सह–आयोजनामा नारायणहिटी अगाडि भएको सम्मेलनमा उहाँले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराए । उनले कागसँग उसको भाषा बुझेर मलाई आपत् पर्यो भन्दै सहयोग मागेर बोलायो भने काग आफुतिर आउँने बताए । कागको स्वभावअनुसार बोलाउँदा काग तिहारको बिहान आज कागलाई भेला गर्न सकिएको उनको भनाइ छ ।