काठमाडौं । सामाजिक सञ्जाल टिकटक नेपालमा सूचीकृत भएको छ । प्रक्रिया पुर्याएर टिकटक सूचीकृत भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।
मन्त्रालयले राखेका सबै शर्त र सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएपछि सूचीकृत गरेर प्रमाणपत्र दिएको उनले बताए । टिकटकले हिजो नेपालमा सूचीकृत भएको प्रमाणपत्र पाएको छ ।
टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका शर्तहरू पनि पूरा गर्ने जनाएको छ ।
टिकटक अब आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ । यसअघि सरकारले २०८० सालको कात्तिक २७ गते नेपालमा टिकटक बन्द गरेकोमा गएको भदौ १९ गते प्रतिबन्ध हटाएको थियो ।
टिकटक नेपालमा सूचीकृत भएको तेस्रो सामाजिक सञ्जाल बनेको छ । यसअघि भाइबर र विटक सूचीकृत भएका छन् । यस्तै सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स लगायतका सामाजिक सञ्जालको माउ कम्पनी मेटा, सामाजिक सञ्जाल एक्स अर्थात् ट्विटर लगायतलाई पनि नेपालमा सूचीकृत हुन आह्वान गर्दै पात्राचार गरेको प्रवक्ता ठाकुरले बताए।
सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सरकारले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने निर्देशिकामा उल्लेख छ ।