सुनसरी । बराहक्षेत्र नगरपालिका-६ का अधिकांश किसान कोदोखेतीमा आकर्षित भएका छन्।
धान र मकै लगाउने खेतबारीमा उनीहरूले कोदो लगाएका छन्। स्थानीय अम्मरबहादुर विश्वकर्माले अरु बालीको तुलनामा कोदोखेती लगाउन सहज र उत्पादन पनि राम्रो हुने भएकाले यसतर्फ आकर्षित भएको बताए। ‘१७ वर्षदेखि कोदोखेती गर्दै आएको थिएँ। पछिल्लो समय यसैबाट घर खर्च पुग्ने गरी यही खेती गरिरहेको छु। व्यावसायिक रूपमा उत्पादन शुरु गरेपछि सन्तोषजनक आम्दानी भइरहेको छ’, उनले भने।
कोदोको बहुउपयोगिताका कारण पनि किसानहरू यसतर्फ आकर्षित भइरहेको उनले सुनाए। विश्वकर्माका अनुसार कोदोबाट कतिपय किसानले घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गरेर लाखौँ आम्दानी गरिरहेका र त्यो नगर्नेहरूले पनि पारिवारिक उपभोग तथा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्।
अर्का किसान शान्ता घिमिरेले पनि मकै र धान खेतीमा जोड दिन छोडेर आफू पनि कोदो खेतीमा लागेको सुनाइन्। ‘धान र मकैमा जत्ति दुःख गरिन्छ, त्यसअनुसार उत्पादन हुँदैन। रोग, किरा लागेर कहिलेकाहीँ मेहनत त्यसै खेर जान्छ तर कोदोमा खासै त्यस्तो हुँदैन। पछिल्लो समय रोग लागेको छैन, उत्पादन राम्रो भएको छ’, उनले भनिन्, ‘त्यसैले आम्दानी राम्रै हुने गरेको छ। एक कठ्ठा जग्गामा एक सय २० किलोग्रामभन्दा बढी उत्पादन हुने गरेको छ। बिक्रीका लागि समस्या पनि हुँदैन। स्थानीय बजारलगायत इनरुवा, इटहरी, धरानमा बिक्रीका लागि पठाउने गरेकी छु।’
किसान नारायण विकले पनि १६ कठ्ठा जग्गामा कोदोखेती गर्दै आएका छन्। उनी पनि मकै, धानलगायत खेती लगाउन छोडेर कोदोखेतीमा लागेको पाँच वर्षभन्दा बढी भयो। ‘कोदोखेतीबाट राम्रो आम्दानी भइरहेको छ’, उनले भने, ‘कोदो बिक्रीका लागि इनरुवा, इटहरी, धरान जाने गरेको छु।’
बराहक्षेत्र-६ मा मात्र १५ परिवारभन्दा बढी कोदोखेती गर्ने किसान छन्। सुनसरीमा हाल ४५८ हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या समग्रमा घट्नै गएको र त्यसले मूल्य वृद्धि हुँदा हाल यसमा लागेका किसानले राम्रो आम्दानी गरेको छ। ‘कोदोमा ढुसीजन्य रोग लागेन भने सुनसरीमा कोदोको उत्पादन राम्रो हुने गरेको छ। पछिल्लो समय कोदोबाट विशेष गरी घरेलु मदिरा, तोङ्बा र पिठो बनाएर प्याकेजिङ गरेर बिक्री गर्ने गरेकाले राम्रो आम्दानी भइरहेको हो’, सूचना अधिकारी श्रेष्ठले भने।
धरान उपमहानगरपालिकाका वडा नं ४, ५, ६ र २० र बराहक्षेत्र नगरपालिकाका वडा नं १, ६ र ५ लगायतका ठाउँमा बढी कोदोखेती हुने गरेको छ। कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी, टिप्टोफेन, एन्टिअक्सिडेन्टलगायतका थुप्रै तत्त्व पाइनाका साथै कोदोको पिठोको प्रयोगले मुटुसम्बन्धी रोग नियन्त्रणसँगै पेटलाई स्वास्थ्य बनाउने भएकाले यसलाई राम्रो बाली मानिन्छ।