काठमाडौं । अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानूनलाई अन्तिम रूप दिइरहेको बताएका छन् ।
अस्ट्रेलियाले एक उमेर प्रमाणीकरण प्रणालीको परीक्षण गरिरहेको छ जसले बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरूको पहुँचबाट रोक्न मद्दत गर्दछ । यो कानून ढिलोमा अर्को वर्षको अन्तिमदेखि लागू हुने प्रधानमन्त्री अल्बानिजले बताएको अमेरिकी सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ ।
सामाजिक सञ्जालले हाम्रा बच्चाहरूलाई हानि पुर्याइरहेको छ र यसको समाधानका लागि मैले काम गरिरहेको छु, अल्बानिजले एक पत्रकार सम्मेलनमा भने । उनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा हुने जोखिमहरू उल्लेख गरे । सामाजिक सञ्जालको गलत प्रयोगले बालिकाहरू यौन शोषणमा परिरहेको र बालकहरूको विकासमा पनि समस्या सिर्जना भएको अस्ट्रेलियाका प्रधानमन्त्रीले बताए ।
सामाजिक सञ्जाल बालबालिकाका लागि डिजिटल निकोटिन भएको महान्यायाधिवक्ता ब्रायन श्वालको जिकिर छ । विपक्षी लिबरल पार्टीले प्रतिबन्धको समर्थन व्यक्त गरेको छ ।
नयाँ कानूनले अभिभावकको सहमति भएका वा पहिले नै खाता भएका बालबालिकालाई पनि कुनै छुट नदिइने स्पष्ट पारेको छ । अस्ट्रेलियाका सञ्चारमन्त्री मिशेल रोल्यान्डले फेसबुक, ट्विटर अर्थात् एक्स, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जाल अब बालबालिकाले प्रयोग गर्न नपाउने स्पष्ट पारे ।
अहिलेसम्म केही देशहरूले कानूनमार्फत बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग रोक्ने प्रतिज्ञा गरिसकेका छन् । यद्यपि अस्ट्रेलियाको नीति सबैभन्दा कडा छ । फ्रान्सले गएको वर्ष १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो । यद्यपि प्रयोगकर्ताहरूले अभिभावकको सहमतिमा चलाउन पाएका छन् ।