बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्ससहित चार वटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि रुपन्देहीका पर्यटन व्यवसायीमा आशा पलाएको छ ।
विमानस्थल उद्घाटन भएको साढे २ वर्षपछि नेपाल एअरलाइन्स, थाइ एअर एशिया, जजिरा र फ्लाई दुबईले उडान गर्ने निश्चित भएपछि व्यवसायीमा आशा पलाए पनि विगत दोहोरिने आशंकाले ढुक्क भने छैनन् ।
रुपन्देहीमा भिसा सेन्टर, मेडिकल, श्रम कार्यालय, नेपालीका लागि ई-भिसा र उडानको डाइरेक्ट कनेक्टिभिटी नभएका कारण विगतमा जजिरा र हिमालयन एयरलाइन्सले उडान बन्द गरेकाले विमानस्थलमा आवश्यक सरकारी कार्यालय तत्काल सञ्चालनमा ल्याउन व्यवसायीले माग गरेका छन् ।
२०७९ जेठ २ गते उद्घाटन भएको विमानस्थलबाट जजिरा एअरलाइन्सले सोही दिन उडान गरेपनि विभिन्न कारण देखाउँदै पुस ६ देखि उडान रोकेको थियो । हिमालयन एअरलाइन्सले पनि केही उडान गरेर बन्द गरेको थियो । उडान नभएपछि व्यवसायीहरु आन्दोलित भएका थिए ।
विमानस्थल उद्घाटन भएको साढे २ वर्षपछि नेपाल एअरलाइन्स, थाइ एअर एशिया, जजिरा र फ्लाई दुबईले उडान गर्ने निश्चित भएको छ । थाई एअर एशियाले कार्तिक १५ गते परीक्षण उडान र कार्तिक २३ गते हिजो व्यवसायिक उडान गरेको छ । यो कम्पनीले अब साताको दुई उडान नियमित गर्ने विमानस्थलका प्रवक्ता विनोदकुमार राउत बताउंछन् ।
शनिबार (आज) बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरवेजको जहाज अवतरण भई साढे ८ बजे फर्केको छ । जजिराले साताको तीन दिन भैरहवाबाट उडान गर्नेछ । आजै दिउँसो १२ बजे फ्लाइ दुबईको जहाज आउने छ । फ्लाई दुबईले हप्तामा सातै दिन उडान गर्ने छ । नेपाल एयरलाइन्सले पनि आजै भैरहवाबाट उडान गर्नेछ । नेपाल एअरलाइन्सको नियमित उडान तालिका अझै निश्चित नभएको विमानस्थलले जनाएको छ ।
३५ अर्ब ६६ करोड लगानी भएको विमानस्थलबाट उद्घाटन भएको साढे २ वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा व्यवसायीहरु निराश थिए । अन्तर्राष्ट्रिय उडानहरु नियमित र पर्याप्त नहुँदा विमानस्थल लक्षित गरी होटल र पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको करिब ८० अर्ब रुपैयाँ लगानीका व्यवसाय जोखिम र संकटमा परेको व्यवसायीहरुको गुनासो छ । अहिले चार वटा विमान कम्पनीले उडान शुरु गर्नु सकारात्मक भएको बताउँदै यसलाई नियमित र पर्याप्त संख्यामा हुनुपर्ने माग राखेका छन् ।
विमानस्थल निर्माणमा जग्गाको मुआब्जासहित ३५ अर्ब ६६ करोड खर्च भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७१ माघ १ गते शिलान्यास भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो ।