काठमाडौं । संवैधानिक परिषद्को बैठकले विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।
बिहीबार बसेको परिषद्को बैठकले ४१ वर्ष पहिले अस्थायी शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि संवैधानिक परिषद्ले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीश कार्की ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका हुन् ।
आठ महिना कामु प्रधानन्यायाधीश भएर न्याय प्रशासन हाँकेका कार्कीलाई संवैधानिक गत असार १ गते परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।
कार्कीको अवकाशसँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश बन्ने बाटो खुल्ला भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रधानन्यायाधीश सिफारिसकै लागि संवैधानिक परिषद्को बैठक मंगलबार बोलाएका थिए । तर उक्त बैठकले सिफारिस गर्न नसकेपछि आजको बैठकले सिफारिस गरेको हो ।
संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की र विपक्षी दलका नेता केपी शर्मा ओली सदस्य छन् ।